देउवालाई सहज, कोइरालालाई सकस


काठमाडौं – नेपाली काँग्रेस १४ औं महाधिवेशनअन्तर्गत सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंह र विमलेन्द्र निधिले शेरबहादुर देउवालाई सघाउने भएका छन्।

पहिलो चरणमा सिंह र निधि दुवैजना सभापतिको प्रत्यासी हुन्। सभापतिको प्रत्यासी कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि देउवा र डा. शेखर कोइरालाबीच पुनः प्रतिस्पर्धा हुने भएको छ।

पहिलो चरणको निर्वाचनमा देउवाले २ हजार २ सय ५८ मत ल्याएका थिए भने कोइरालाले १ हजार ७ सय २ मत प्राप्त गरे। यसैगरी, सिंहले ३ सय ७० मत पाएका थिए भने निधी र कल्याण गुरुङले क्रमशः २५० र २२ मत प्राप्त गरे।

त्यसैले देउवालाई सभापतिमा जित्न सिंह र निधिमध्ये एकजनाको मात्र साथ भए पनि पुग्थ्यो। तर, सिंह र निधि दुवै जनाले सघाउने प्रतिबद्धता व्यक्त गरेसँगै देउवालाई थप सहज भएको छ।

तर, कोइरालालाई भने दोस्रो चरणमा निर्वाचन जित्नका लागि सिंह र निधि दुवैको साथ चाहिन्थ्यो। अब त्यो नहुने देखिएको छ। त्यसैले अब कोइरालालाई गाह्रो देखिएको छ।

कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६ सय ८१ जनाले मतदान गरेका थिए। मतदानमा ७७ मत बदर भएको थियो।

कांग्रेसको विधानअनुसार सभापति निर्वाचन हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ। सबैभन्दा बढी मत प्राप्त गर्ने देउवालाई विजयी हुनका लागि ८१ मत अपुग भएको थियो।

निर्वाचन आजै दिउँसो ३ बजेबाट सुरु हुने केद्रीय निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया