
चीनले अफगानिस्तानलाई पठायो मानवीय सहायता सामग्री
काबुल – चीनले अफगानिस्तानलाई मानवीय सहायतासम्बन्धी सामग्रीको दोस्रो लट पठाएको छ । दोस्रो लटको सामग्री सोमबार काबुल आइपुगेको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । चिसो मौसमका लागि भन्दै चीनले सोमबार यी सामग्री पठाएको हो ।
सोमबार काबुलमा आयोजना भएको एक कार्यक्रममा यी सामग्री हस्तान्तरण गरिएको हो । रेलमार्फत् ती सामग्री सोमबार अफगानिस्तानको राजधानी काबुल पु¥याइएको थियो । अफगानिस्तानको तालिबान सरकारका एक उपमन्त्री र अफगानिस्तानका लागि चिनियाँ राजदूत उपस्थित एक समारोहमा सोमबार ती सामग्री प्रदान गरिएको थियो ।
अफगानिस्तानका लागि रेलमा ती सागम्री ल्याइएको बताइएको छ । ती सामग्रीहरुमा ७० हजार वटा ब्लांकेट र ४० हजार वटा डाउन कोट रहेका बताइएको छ । चीनले विगतदेखि अफगानिस्तानलाई सहयोग गर्दै आएको छ । यसअघि पनि चीनले खाद्यान्न र लत्ता कपडा सहयोग गरेको थियो ।
अहिले भने जाडो मौसमका लागि जाडो कपडा पठाइएको छ भने केही आधारभूत औषधिहरू पनि त्यहाँ पठाइएको समाचारमा जनाइएको छ । अफगानिस्तानका तालिबानहरूले सशस्त्र विद्रोह गरेर त्यहाँको सरकारलाई विस्थापित गरेका थिए । त्यसयता त्यहाँका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको बताइएको छ ।



कागजपत्र |
