एमबिबिएस शुभारम्भ गर्न जुम्ला पुगिन् राष्ट्रपति भण्डारी


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आईतबार जुम्ला पुगेकी छन्।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु हुन लागेको एमबिबिएस अध्ययनको शुभारम्भ गर्न भण्डारी जुम्ला पुगेकी हुन्।

चिकित्सा शिक्षा आयोगले एमबिबिएसका लागि २० कोटा छुटाइएकोमा १९ जना भर्ना भएका छन्। बि फर्ममा २० कोटा निर्धारण भएकोमा ११ जना, बिएनएसतर्फ १६ जना, बिएमएसतर्फ ८ जना र बिपिएचतर्फ ६ जना भर्ना भएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतको ध्यान केन्द्रित गर्न एमबिबिएस उद्घाटनका लागि राष्ट्रपतिलाई बोलाइएको रजिस्ट्रार महतको भनाई छ।

उनले भने ‘कर्णालीमा एमबिबिएस सञ्चालन हुनु देशकै गौरबको विषय हो। यसलाई सफल पार्न सबैको सकारात्मक सहयोग आवश्यक रहेको छ। विगतमा डाक्टर खोजी खोजी उपचार गर्ने कर्णालीका नागरिकले अब सेता एप्रोनधारी डाक्टर रोजी रोजी उपचार गर्नेछन्।’

राष्ट्रपति भण्डारीले ७६ करोड लागतमा बन्दै गरेको प्रतिष्ठानको शैक्षिक भवनको आज शिलान्याससमेत गरेकी छन्।

प्रतिक्रिया