देउवाको निर्देशन– देशव्यापी प्रदर्शनमा मास्क लगाउनू, भौतिक दूरी कायम गर्नू


काठमाडौं– सोमबार सरकारविरुद्ध देशव्यापी प्रदर्शनको निर्णय गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मास्कको अनिवार्य प्रयोगसँगै भौतिक दूरी कायम राख्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

आइतबार एक अपिल जारी गर्दै सभापति देउवाले प्रदर्शनको तयारीमा जुटेका सबै तहका नेता कार्यकर्तालाई थप जागरुकता र एकता साथ प्रदर्शनलाई भब्य, ब्यवस्थित र शान्तिपूर्ण बनाउन भनेका छन्।

सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा अघि बढेका कारण सडकमा आउनु परेको देउवाले जारी गरेको अपिलमा उल्लेख छ।

काँग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आएको उल्लेख गरेका देउवाले भनेका छन्,‘सरकारले त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको पाइयो। यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ।’

‘जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ?’ देउवाको प्रश्न छ,‘शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरु मार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ?’

प्रतिक्रिया