


कांग्रेस सभापतिमा देउवासहित ६ जनाको उम्मेदवारी

काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि ६ जनाको उम्मदवारी दर्ता भएको छ ।
निवर्तमान सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएसँगै सभापतिमा उम्मेदवारी गर्नेको संख्या ६ पुगेको हो।
नेपाली कांग्रेसका नेताहरु डा शेखर कोइराला विमलेन्द्र निधि प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराइसकेका छन्। महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन गर्ने क्रममा नेताहरूले आ-आफ्नै टिम र प्यानल बनाएका छन्।
चन्द्र भण्डारी र धनराज गुरुङले उपसभापति पदामा उम्मेदवारी दर्ता गराएका छन्। यसअघि उपसभापतिमा नेता महेश आचार्य र सुजाता कोइरालाले पनि मनोनयन दर्ता गराएका थिए।
त्यस्तै सहमहामन्त्रीमा रञ्जीत कर्ण, रामकृष्ण यादव, किशोरसिंह राठौर, कमला पन्त, जीवन परियार, विकास लामा र तेजुलाल चौधरीले पनि उम्मेदवारी दर्ता गराएका छन्।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रियसभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता भएको हो। मनोनयनमाथिको दाबी विरोध र नाम फिर्ताका लागि आइतबार दिउँसो १ बजे सम्मको समय तोकिएको छ। आइतबार अन्तिम नामावली प्रकाशन गरेपछि २७ गते सोमबार बिहान ८ बजे देखि मतदान सुरु हुनेछ।

