नेकपा स्थायी समितिमा छिर्दैछ निधन भएका कमानसिंह–प्रवक्ता श्रेष्ठ विवाद, चर्काचर्कीको अर्को विषय


काठमाडौं– आन्तरिक विवाद चुलिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकमा निधन भएका केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामा र प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादबारे प्रश्न उठाउने तयारी भएको छ।

आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा डाकिएको बैठकमा लामाको निधनमाथि शोक प्रस्ताव पारित हुनेछ। यसपछि सोमबारका लागि स्थायी समितिको बैठक डाक्न सकिने बताइएको छ।

‘अहिलेसम्म हुँदै नभएको काल्पनिक आरोपमा जसरी प्रधानमन्त्रीलाई आक्षेप लगाउने काम भएको छ, सतहमा आएको प्रमाणसहित प्रवक्ता नारायणकाजीमाथि लागेको आरोपबारे पनि स्थायी समितिमा प्रश्न उठ्नेछ’, ओलीनिकट एक स्थायी समिति सदस्य भन्छन्,‘आखिर प्रश्न त प्रश्न हो नि। किन प्रवक्ताको विवादको विषयमा अन्य नेता बोलेका छैनन्? पार्टी कमिटीमा यो पनि विषयले प्रवेश पाउनेछ।’

शोक प्रस्ताव पारित गरेपछि कार्यसूचीमा रहेका अन्य विषयमा तत्कालै छलफल गर्ने प्रचलन नरहेकाले सोमबारका लागि बैठक डाक्न सकिने सम्भावना रहेको बताइन्छ। यद्यपि, स्थायी समितिमा श्रेष्ठको अडिओ भिडिओ प्रकरण, निधन भएका लामाले लगाएको आरोप, सुसन कर्माचार्यको सम्पत्तीको स्रोतका विषयमा समेत प्रश्न उठ्ने भएको छ।

यसैबीच, विवाद समाधानका लागि स्थायी समितिको बैठक भइरहेका बेला देशका विभिन्न ठाउँमा विवाद बढाउने अर्को विषयमा पनि चर्काचर्की हुने सम्भावना रहेको छ। स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले देशव्यापी रुपमा गरिरहेका विद्यार्थी र युवाको भेला, मदन भण्डारी फाउन्डेशनका नाममा ओली समूहले गरेको जनताको बहुदलीय जनवादको विषयलाई पनि फेरि विवादको विषय बनाउने तयारी नेताहरूले गरेका छन्।

प्रतिक्रिया