विनाकसुर ४० वर्ष थुनिएका दुर्गाप्रसादलाई ५ लाख क्षतिपूर्ति दिन उच्च अदालत कलकत्ताको आदेश


काठमाडौं – विनाकसुर भारतको जेलमा ४० वर्ष थुनिएर गत चैतमा रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन उच्च अदालत कलकत्ताले आदेश जारी गरेको छ । अदालतले पश्चिम बंगाल सरकारलाई

उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल भारु पाँच लाख अर्थात नेपाली आठ लाख रुपैयाँ जम्मा गर्न पश्चिम बंगाल सरकारलाई आदेश दिएको हो ।

दुर्गाप्रसादको मुद्दामा बहस पैरवी गरेका कोलकाताका वकिल हिरक सिन्हाले उच्च अदालतले ७ डिसेम्बर (मंसिर २१ गते) को दिन भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् दुर्गाप्रसादको बैंक खातामा पाँच लाख भारु पठाउन आदेश दिएको बताए ।

कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वर पौडेलले अबको ६ साताभित्र सरकारले तिम्सिनाकै खातामा रकम जम्मा गर्नुपर्ने बताए । उनले दुर्गाप्रसादको बैंक खाता नभए, उनको नजिकको नातेदारको खातामा रकम पठाइने पनि बताए ।

इलामको माई नगरपालिका-१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा एक युवतीको हत्या आरोपमा उनी पक्राउ परेका थिए । आरोप प्रमाणित नभएपछि २०७७ चैत ४ गते कोलकाता उच्च अदालतले दुर्गाप्रसादलाई रिहा गर्न आदेश दिएको थियो । चैत ७ गते उनी कोलकाताको दमदम कारागारबाट रिहा भएका थिए ।

अदालतको आदेशपछि रिहा भएका तिम्सिना गत चैतमा इलामको लुम्बाकमा रहेको घरमा फर्किएक थिए।

चार दशक लामो जेल जीवन बिताएका तिम्सिनाको घरमा आर्थिक अवस्था कमजोर छ। परिवार र समाजसँग घुलमिल हुन उनलाई समस्या भएपछि केही महिनाअघि उनलाई विराटनगरस्थित मानव सेवा आश्रममा राखिएको उनका भतिजा गोपाल तिम्सिनाले जानकारी दिए।

प्रतिक्रिया