


अब एक्लै भए पनि सभापतिमा लड्छु: प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको संस्थापन इतर समूहको बैठकले आज पनि सभापतिको साझा उम्मेदवार तय गर्न सकेन।
कांग्रेसको १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठकले आज सभापतिको उम्मेदवार चयन गर्ने बताइए तापनि त्यसो हुन सकेन।
नेताहरूका आ–आफ्नै अडानका कारण आजको बैठकले साझा उम्मेदवार तय गर्न नसकेको स्रोतले बतायो। बैठकमा सभापतिका उम्मेदवारी घोषणा गरेका सिंहले आफू पछि नहट्ने बताएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो।
नेता सिंहले बैठकमा आफूले विगतमा धेरै पटक पार्टीका लागि त्याग गरेको उल्लेख गर्दै अब आफू त्यसरी त्याग गरेर बस्न नसक्ने बताएका थिए। उनले १३ औँ महाधिवेशनमा समेत त्याग गरेको स्मरण गराउँदै यसपटक आफूलाई समर्थन गर्न आग्रह गरेका थिए।
‘१३ औँ महाधिवेशनमा पनि गरे त्याग गरेकै हो। मैले मात्रै कति पटक त्याग गर्ने, म छोड्नेवाला छैन। म एक्लै भए पनि सभापतिमा लड्छु,’ उनले बैठकमा भनेका थिए।
यो समूहमा नेता सिंह, वरिष्ठ नेता पौडेल र शेखर कोइराला सभापतिको आकांक्षी हुन्।

