

ओमिक्रोन त्रासः सिक्किममा हुने ग्लोबल फिल्म फेस्टिभल स्थगित

काठमाडौं – सिक्किममा आयोजना हुने ग्लोबल फिल्म फेस्टिभललाई स्थगित भएको छ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलन थालेसँगै सिक्किम सरकारले फेस्टिभललाई स्थगित गरेको हो ।
सिक्किम राज्यको संचार विभागले सूचना जारी गर्दै कोरोनाको नयाँ भेरिएन्टको कारण फेस्टिभल स्थगित गरिएको जानकारी दिएको छ । सुचनामा मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले फेस्टिभललाई तत्कालको लागि स्थगित गर्ने निर्णय गरेको उल्लेख छ ।
फेस्टिभल डिसेम्बर १० देखि १४ सम्म आयोजना हुन लागेको थियो । फेस्टिभलमा भाग लिन दुईदर्जन नेपाली फिल्ममेकर र भुटानी निर्मातालाई निम्तो दिइएको थियो । मुम्बई र नेपाली चलचित्रकर्मीको फेष्टिभलमा सहभागी रहने तय भएको थियो ।

