राप्रपाबारे भ्रम सिर्जना गर्ने काम निर्मल निवासबाट बारम्बार हुँदै आएको छः कमल थापा


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पुर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने आफूले घोर भत्सर्ना र निन्दा गर्ने बताएका छन्।

मंगलबार एक विज्ञप्ती जारी गर्दै थापाले विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब आफूहरुले कुन मुखले भन्ने? भन्ने प्रश्न पनि उठाएका छन्।

थापाले २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका बारेमा भ्रम सिर्जना गर्ने/गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको दाबी गरेका छन्।

उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘मेरो यो अभिव्यक्तिलाई चुनावमा हारपछिको आक्रोशको रूपमा नबुझि दिन सबैमा विनम्र आग्रह गर्दछु। एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन। हारलाई पनि सहर्ष स्विकार गरेर फेरी अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ। तर, पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धि मेरो र राप्रपाको आधारभूत मान्यता माथी नै गम्भीर आघात पुगेको छ।’

यस्तो छ कमल थापाले निकालेको विज्ञप्ति

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। महाधिवेशन सफल तुल्याउन सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु। महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिंगदेन लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गर्दछु।

महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको छ। विगतमा पटकपटक विभाजनको पिडा भोगेको हुँदा भविष्यमा पार्टी कहिल्यै फुटनु हुंदैन भन्ने महाधिवेशनको स्पष्ट सन्देश र संकल्प रहेको छ।

अध्यक्ष पदमा पराजयका वावजुद पार्टी एकताको पक्षमा मेरो निरन्तर सकारात्मक सहयोग रहनेछ।

केन्द्रिय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पुर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछ। फेरि यो पहिलो घटना होइन। २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ।

मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझि दिन सबैमा विनम्र आग्रह गर्दछु । एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन। हारलाई पनि सहर्ष स्विकार गरेर फेरी अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ।

तर, पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धि मेरो र राप्रपाको आधारभूत मान्यता माथी नै गंभीर आघात पुगेको छ।

नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजनीति भन्दा माथी उठेको साझा संस्थाको रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रहि रहनेछ।
राप्रपाले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श अभिभावकको रूपमा रहने सम्मानित संस्था हो। चुनावी राजनीति भन्दा माथी उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा हामीले राजसंस्थाको वकालत गरेका हौं।

अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहोरी हस्तक्षेप (यस सम्वन्धि यथेष्ट प्रमाण हामीसँग सुरक्षित छ) हुन्छ भने भोली राजसंस्था स्थापित हुंदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ। विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब हामीले कुन मुखले भन्ने?

अत्यन्त प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिँडेको म र राप्रपालाई अहिले परेको पिर यहि हो। म नैतिक र धर्मसंकटमा परेको छु । यसैगरी देशमा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्न सक्ने शक्ति वा राजनीतिक दलको रूपमा होईन, राप्रपालाई “भजन मण्डली” बनाउने गलत नियत राखेर मलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको तथ्य स्पष्ट छ । राप्रपालाई “भजन मण्डली” बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौं।

राजसंस्थाका वारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा अब राप्रपा भित्र बहस शुरू हुनेछ।

प्रतिक्रिया