आजभोली यस्तो छ निर्मलनिवासभित्र पूर्वराजा ज्ञानेन्द्रको दिनचर्या


काठमाडौं– सडकमा राजसंस्था र हिन्दू धर्म सापेक्षताका निम्ति प्रदर्शन भइरहेका बेला मौन रहेका पूर्वराजा ज्ञानेन्द्र शाह के गर्दैछन् होला भन्ने आम चासो र चिन्ता छ।

प्रदर्शनबारे आधिकारिक रुपमा मुख नखोलेका उनी के ठानिरहेका होलान्? यहि सन्दर्भमा निर्मलनिवासभित्र रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको दैनिकी कसरी सुरु हुन्छ र दिन कसरी बिताउँछन् भन्ने विभिन्न स्रोतहरू परिचालन गरी अनलाइनन्युज सेभेनले पत्तो लगाएको छ।

कोरोना महामारी सुरु भएयता पूर्वराजा ज्ञानेन्द्रले बाहिरी भेट र हिँडडुललाई बन्द नै गरेका थिए। निर्मलनिवासभित्र केही सहयोगीबाहेकका अन्य भेट उनले बन्द गराएका थिए। तर कर्मचारीमा नै कोरोना देखिएपछि भने उनी परिवारसहित १५ दिनका लागि दशैं तिहारबीचमा नगरकोट पुगेका थिए।

कर्मचारी तथा सहयोगीहरूलाई कोरोना पोजेटिभ देखिएपछि राजपरिवार अस्थायी बसोबासका निम्ति नगरकोट गएको थियो। नगरकोटमा ज्ञानेन्द्र, रानी कोमल, पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयेन्द्र १५ दिन बसेका थिए।

नाति हृदयेन्द्रलाई पनि बैंकक अध्ययनका लागि पठाइएको थियो तर उनले आफ्नै देशमा अध्ययन गर्ने जिकिर गरेपछि कलेज भर्ना नगरी फर्काइएको हो । अहिले हृदयेन्द्र काठमाडौंमै अध्ययन गरिरहेका छन् । कोरोना भाइरसबाट बच्न परिवारका साथ नगरकोट पुगेका उनले होटलबाट आफ्नो अध्ययनलाई निरन्तरता दिएका थिए।

प्राप्त जानकारीअनुसार निर्मल निवासमा भान्सामा काम गर्ने कर्मचारीहरूदेखि पालेसम्मलाई कोरोना पोजेटिभ देखिएको थियो। भान्से, मालीलगायतका कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि राजपरिवारसँग दुई वटा विकल्प थियो, कर्मचारीहरूलाई घर पठाउने या आफै घर छोडेर बाहिर बस्ने।

कर्मचारीहरूको १५ दिनको ‘आइसोलेसन’ सकिएपछि दशैँ र तिहारको बीचमा नगरकोट बसेका राजपरिवारका सदस्यहरू तिहारको टीका लगाउन काठ्माडौं फर्किएका थिए । तिहारमा राजा ज्ञानेन्द्रले विगतमा झैँ बहिनी शोभा राज्यलक्ष्मीदेवी शाहको हातबाट टिका लगाएका थिए।

आजभोली पूर्वराजाको दिनचर्या

पूर्वराजा ज्ञानेन्द्र अक्सर बिहान सबेरै उठ्छन्। बिहानको केहीबेर निर्मलनिवासभित्रै मर्निङ वाक गरेपछि ब्रेकफास्ट लिन्छन्। निर्मलनिवासभित्रै उनको एउटा कार्यालय बनाएका छन्। जहाँ उनी साढे १० बजे पुग्छन् र देशदुनियाँका खबरदेखि अध्ययनमा लाग्छन्।

‘कुनै खास काम र दरबारका कर्मचारीसँगका केही समस्यालगायतका विषयमा पनि कार्यालयमा बसेरै कुरा गर्नुहुन्छ, सचिवालयलाई दिने निर्देशन र अन्य नीजि काम पनि त्यहिँबाट हेर्नुहुन्छ’, स्रोतले भन्यो।

उनको कार्यालयमा बस्ने समय दिउँसो साढे १ बजेसम्म हो। त्यसपछि उनी लन्च लिन्छन् र दुई घन्टा जति आराम गरी सुत्छन्। साँझ एकचोटी पुनः हिँड्नुअघि परिवारका कोही सदस्य भए परामर्श गर्छन्, नीजि चिकित्सक वा अन्य स्वास्थ्य सम्बन्धी विषयमा सरोकारका व्यक्तिसँग भेट गर्छन्।

‘प्रायः दैनिकी यस्तो रहेको छ आजभोली। तर साताका केही दिन विशेष र खास पनि छन्’, स्रोतले भन्यो,‘विशिष्ट कामका विषयमा पनि कुराकानी हुने गरेका छन्।’

पूर्वराजा ज्ञानेन्द्रले हरेक विहीबार देशमा भएका घटनाक्रमको समिक्षा आफ्नो पुरानै सचिवालयका व्यक्तिसँग परामर्श गर्दै आएका छन्। पशुपतिभक्त महर्जन, डा.फणि पाठक र सागर तिमल्सिनासँग उनी बिहीबार गफिने गरेका छन्। ‘अहिले राजावादीको आन्दोलनका विषयमा पनि उहाँ जानकार हुनुहुन्छ, औपचारिक रुपमा केही नबोले पनि यो जनताको आवाज देखेर मुसुमुसु हासिरहनुभएको छ’, स्रोतले भन्यो।

कोरोना भाइरसको महामारी आउनुअघि निर्मलनिवासमा हरेक शुक्रबार परिवारका सबै सदस्य भेला हुनेगरी पार्टीको आयोजना पनि हुन्थ्यो। तर हाललाई भने उक्त कार्यक्रम स्थागित गरिएको छ। परिवारका सदस्यको जमघट भने पहिलाको जस्तो बाक्लो छैन, कोरोना महामारीका बेला नगरकोटमा बसेको १५ दिन नै यसबीचको लामो भेट भएको स्रोतले जनायो।

प्रतिक्रिया