कांग्रेस डडेल्धुराका नेता कार्यकर्ताले तोडे अनशन, फरक रुपले माग अघि बढाउने तयारी


काठमाडौं – पुनः अधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा अनशन बसेका डडेल्धुरा जिल्ला सभापतिसहितका नेता कार्यकर्ताले अनशन तोडेका छन् ।

मंगलबार उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा रिले अनशन तोडेका डडेल्धुरा जिल्ला सभापति कर्ण मल्लले आफूहरुको माग अब फरक रुपले अघि बढाउने भन्दै अनशनको कार्यक्रम स्थगित गरेको जानकारी दिए ।

जिल्लाबाट पठाएका क्रियाशील सदस्यको नाम हटाएर र केन्द्रबाट आफुखुशी नाम थपेर वडा अधिवेशन गर्न लागिएको भन्दै कांग्रेसको जिल्ला समितिले भदौ २२ गतेको वडा अधिवेशन स्थगित गरेको थियो । तर जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले अधिवेशन अघि बढाएका थिए । हाल डडेल्धुरामा स्थानीय तहको र जिल्ला अधिवेशनसमेत सम्पन्न भइसकेको छ ।

सोमबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुराको जिल्ला अधिवेशनलाई मान्यता दिने निर्णय गरेको थियो । जिल्ला सभापति मल्लले निर्वाचन समितिले प्रमाणको बेवास्ता गर्दै विवेक बन्धक राखेर निर्णय गरेको बताए ।

उपसभापति विमलेन्द्र निधिले डडेल्धुराको नेता कार्यकर्ताको मागप्रति आफ्नो ऐक्यवद्धता रहेको बताए ।

 

प्रतिक्रिया