

प्रतिबन्धित नेकपा विप्लव समूहले कालिकोटमा बनायो समानान्तर सत्ता, जनअदालत गठन

काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द (विप्लव) समूहले कालिकोट जिल्लामा समानान्तर सत्ता र जनअदालतको घोषणा गरेको छ। ९ वटा स्थानीय तह रहेको जिल्लामा विप्लव समूहले पहिलो पटक समानान्तर सत्ता र अदालत घोषणा गरेको हो।
जिल्लाका तीन नगरपालिका र ६ गाउँपालिकामा स्थानीय सरकारको विकल्पमा जनसरकार घोषणा गरिएको कालिकोटका सेक्रेटरी मनीलाल ऐडी रणदीपले जानकारी दिएका हुन्।
नरहरीनाथ गाँउपालिकामा मनबहादुर विष्ट, सान्नीत्रिवेणी गाउँपालिकामा राजन भण्डारी, रास्कोट नगरपालिकामा प्रकाश सुनार, पचाल झरना गाउँपालिकामा चम्फसिंह बस्नेत, पलाँता गाँउपालिकामा अनरुप विक, खाँडाचक्र नगरपालिकामा अबिरल तिरुवा, शुभकालिका गाउँपालिकामा धर्म विक र महाँवै गाउँपालिकामा धनबहादुर सिंहलाई जनसरकार प्रमुखको जिम्मेवारी दिइएको छ।
तिलागुफा नगरपालिकालाई आधा खाँडाचक्र र आधामहावै गाउँपालिकासँग जोडिएको छ।
त्यसैगरी विप्लवको पार्टीले जिल्ला अदालतको समानान्तर अदालत जनअदालत पनि गठन गरेको छ। न्यायाधीशको जिम्मेवारी कमल बटालालाई दिइएको छ। गाउँमा जनतालाई न्याय दिनका लागि जनअदालत गठन गरेको जनाइएको छ।
विप्लवले जिल्लास्तरमा ११ सदस्य सुरक्षा विभाग गठन गरेको छ। जस अन्तरगत जिल्लामा रहेका आठ वटा एरिया कमाण्डमा प्रत्येक एरियामा एक प्लाटन जनमुक्ति सेना पनि तयार पारेको छ।

