सेयर बजारमा भारी अङ्कको गिरावट, ५ अर्बको कारोबार


काठमाडौं – मौद्रिक समीक्षापछि आइतबार सेयर बजारमा भारी अङ्कको गिरावट आएको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक समीक्षाले सेयर लगानीका लागि ४-१२ करोड कर्जा सीमालाई यथावत् राखेपछि आज (आइतबार) बजारमा ८०.२९ अङ्कको गिरावट आएको हो ।

यसअघि मौद्रिक नीतिले एक बैङ्कबाट सेयरमा लगानीका लागि ४ करोड र समग्र बैङ्क तथा वित्तीय संस्थाबाट १२ करोडसम्म कर्जा पाउने व्यवस्था गरेको थियो । समीक्षामार्फत यो व्यवस्थाको दायरा बढाइने धेरैको अनुमान थियो । परिसूचकमा भारी गिरावट आए पनि कारोबार रकम केही बढेको छ । ५ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको छ ।

आइतबार सबै उपसमूह राताम्मे भएका छन् । बैङ्किङ ३४, व्यापार १५९, होटल तथा पर्यटन १४७, विकास बैङ्क २६७, जलविद्युत १३२, फाइनान्स ६८, निर्जीवन बीमा ३८५, उत्पादन १९२, अन्य ६८, माइक्रो फाइनान्स १३९ र जीवन बीमा उपसमूह ५३८ अङ्कले घटे । १८२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मात्रै बढेको छ ।

आइसिएफसी फाइनान्सको मूल्य भने ९.७ प्रतिशतले बढ्यो । सामलिङ पावरको मूल्य ८ प्रतिशतले बढ्यो ।हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ८.४ प्रतिशतले घट्यो । मानुषी लघुवित्तको ८, प्राइम लाइफ इन्स्योरेन्सको ७।३ प्रतिशतले मूल्य घट्यो । कारोबारका आधारमा महालक्ष्मी विकास बैङ्क अग्रस्थानमा रह्यो । सो कम्पनीको २८ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

प्रतिक्रिया