सुमार्गीको ‘हेलो नेपाल’ टेलिकमको लाइसेन्स खारेज


काठमाडौं – नेपाल स्याटेलाइट टेलिकम प्रा.लि. (हेलो नेपाल) को अनुमतिपत्र खारेज भएको छ। सरकारले दिएको समयभित्र बक्यौता नतिरेपछि दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हेलो नेपालको अनुमतिपत्र खारेज गरेको हो।

शुक्रबार बसेको प्राधिकरण बोर्डको बैठकले हेलो नेपालको आधारभूत दूरसञ्चार सेवाको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए।

व्यवसायी अजय सुमार्गीको स्वामित्वमा रहेको यो टेलिकम कम्पनीको अनुमतिपत्र खारेज गर्ने निर्णय भएको यो दोस्रो पटक हो। यसअघि १७ साउन २०७६ मा बक्यौता नबुझाएको भन्दै प्राधिकरणले यस कम्पनीको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको थियो।

प्राधिकरणको उक्त निर्णयविरुद्ध कम्पनी नेपाल सरकारसमक्ष पुनरावलोकनका लागि गएको थियो। कम्पनीको उक्त निवेदनका आधारमा मन्त्रिपरिषद्को २१ पुस २०७६ मा बसेको बैठकले प्राधिकरणको उक्त निर्णयलाई उल्ट्याइदिएको थियो ।

दूरसञ्चार प्राधिकरणले कम्पनीले तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै अनुमति खारेज गर्ने निर्णय भएको दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले गरेको हो। शुक्रबार प्राधिकरणको बोर्ड बैठक बसेको थियो।

प्राधिकरणका निर्देशक सन्तोष पौडेलका अनुसार दूरसञ्चार ऐनबमोजिम हेलो नेपालको अनुमति खारेज गरिएको जानकारी दिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट मानिने व्यवसायी सुमार्गीलाई योभन्दा अघिल्लो पटक खारेजीमा पर्दा मन्त्रिपरिषद्को बैठकले नै अन्तिम पटकलाई भन्दै किस्ताको सुविधा दिएको थियो।

पुनः राजनीतिक दबाबमा उनको लाइसेन्स बचाउन भने अहिलेलाई गाह्रो देखिएको छ। हेलो नेपालले बक्यौताको किस्ताबापत २०७८ असार मसान्तभित्र ३३ करोड ५८ लाख ४७ लाख ३०३ रुपैयाँ बुझाउनुपर्नेछ।

प्रतिक्रिया