
२१ हजार तिर्न नसक्दा अस्पतालको भवनबाट हामफालेर आत्महत्या !
विराटनगर – अस्पतालमा उपचार गराएको २१ हजार तिर्न नसक्दा एक बिरामीले अस्पतालमै आत्महत्या गरेका छन् । बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार गराईरहेका मोरङ धनपालथान गाउँपालिका —१ नोचाका शिवकुमार मण्डलले उपचार गरे बापतको २१ हजार रुपैयाँ तिर्न नसक्दा अस्पतालको भवनको तीनतलामाथिबाट हामफालेर आत्महत्या गरेका हुन् ।
एक छोरा र एक छोरीका बाबुसमेत रहेका ३५ वर्षीय मण्डललाई छारे रोग भएपछि उपचारार्थ अस्पताल भर्ना गरिएकोमा उपचारबापत उठेको रकममध्ये २१ हजार तिर्न नसक्दा आत्महत्या रेको जनाइएको छ । पैसा नतिरेकै कारण अस्पतालले मण्डललाई बन्धक बनाएर राखेको थियो । घर जान नपाएको र रकमको समेत अभाव भएका मण्डल एक्कासि अस्पतालको तीन तलामाथिबाट शुक्रबार हाम फालेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार उनको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । तत्कालै त्यही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
छारेरोग र मानसिक समस्या भएपछि मण्डलाई परिवारले मंसिर ३ गते अस्पताल भर्ना गरेको थियो । पहिले आईसीयू र पछि वार्डमा सारेर उनको उपचार भइरहेको थियो । घर लग्दा हुने भनि अस्पतालले मंसिर ७ गते नै डिस्चार्जको अनुमति दिएका थिए । तर, उपचारवापतको २१ हजार रूपैयाँ तिर्न नसक्दा परिवारका घर लैजान नसकेको आफन्त श्रीराम कामतले बताए ।
“जम्मा ३८ हजार रूपैयाँ खर्च भएको थियो । १७ हजार परिवारले चुक्ता गरे तर बाँकी रकम दिन सकेनन्,” उनले भने ।
मण्डलले कुरुवा बसेकी सासू शौचालय गएको मौका छोपेर अस्पतालबाट हाम्फालेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले बिरामीको डिस्चार्ज भएकाले अस्पतालले जतिसक्दो चाँडो घर लैजानु भनेको तर धेरै दबाव नदिएको दाबी गरे ।



कागजपत्र |
