‘विश्वकै सबैभन्दा वृद्धा’ को १२४ वर्षको उमेरमा निधन


काठमाडौं – विश्वकै सबैभन्दा वृद्ध व्यक्ति मानिएकी १९ औं शताब्दीमा जन्मिएकी महिलाको १२४ वर्षको उमेरमा निधन भएको छ । डेलिमेलका अनुसार फिलिपिन्सकी फ्रान्सिस्का सुसानोको १२४ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

फिलिपिन्सको नेग्रोस ओसिडेन्टल प्रान्तस्थित कबन्कलानको आफ्नै घरमा सुसानोको मृत्यु भएको हो । उनलाई विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रुपमा गिनिज वर्ल्ड रेकर्डस्को मान्यता दिने कार्य भने प्रमाणीकरणको चरणमा छ ।

सुसानोको मृत्युको कारण भने खुलेको छैन तर उनलाई कोरोना संक्रमण भने देखिएको थिएन । सुसानोको जन्म सन् १८९७ सेप्टेम्बर ११ मा भएको मानिएको छ । जतिबेला फिलिपिन्समा स्पेनको शासन थियो ।

फिलिपिन्सको संसद्ले पनि उनको सम्मान गर्दै सुसानोको जन्मदिनमा करिब २४ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार दिने निर्णय गरेको थियो । कबन्कलान सहरले एक विज्ञप्ति जारी गर्दै उनको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ ।

अहिलेसम्म सबैभन्दा लामो उमेर बाँचेको कीर्तिमान फ्रान्सकी जिएन्ने काल्मेन्टको नाममा छ । उनको १२२ वर्षको उमेरमा निधन भएको थियो । त्यस्तै सबैभन्दा वृद्ध जीवित व्यक्तिको कीर्तिमान भने जापानकी काने तनाकाको नाममा छ ।

उनी ११८ वर्षकी भइन् । यसअघि इरिट्रियाको नाताबाय टिन्सिएका परिवारले पनि उनको गत सेप्टेम्बरमा १२७ वर्षको उमेरमा निधन भएको दाबी गरेका थिए ।

प्रतिक्रिया