एसईईमा न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था लागू गरिदै


काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सैद्धान्तिकतर्फ न्यूूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अङ्क ल्याउन नसक्ने विद्यार्थीले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गर्न लागिएको छ ।

एसईईमा अहिले भइरहेको व्यवस्थाअनुसार सैद्धान्तिक र आन्तरिक मूल्याङ्कन दुवैतर्फको प्राप्ताङ्कलाई जोडेर नतिजा प्रकाशन गर्ने गरिएको छ । सैद्धान्तिकमा थोरै अङ्क ल्याए पनि आन्तरिक मूल्याङ्कनमा विषय शिक्षकले दिने उच्च अङ्कका कारण परीक्षार्थीको समग्र ग्रेड उच्च हुने गरेको छ ।

यसले विद्यार्थीको सिकाइमा असर पार्ने र माथिल्ला कक्षा चढे पनि उत्तीर्ण हुन नसक्ने जस्ता समस्या निम्त्याउने गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माका अनुसार नयाँ व्यवस्था लागूू भएपछि परीक्षार्थीले सैद्धान्तिकमा पनि परीक्षा दिएको कुल अङ्कको ३५ प्रतिशत ल्याउनैपर्छ । तोकिएको अङ्क ल्याउन नसक्नेलाई प्रमाणपत्र जारी नगर्ने तयारीमा मन्त्रालय छ ।

अहिले विद्यालय तहअन्तर्गत कक्षा एकदेखि आठसम्म छवटा ग्रेड र कक्षा नौदेखि १२ सम्म विद्यार्थीको प्राप्ताङ्कअनुसार नौवटा ग्रेडमा वर्गीकरण गरेर नतिजा प्रकाशन गर्ने गरिएको छ ।

प्रतिक्रिया