भागरथीका तीन सीम कार्डका फोन कल डिटेल्स नियाँलियो, अनुसन्धानमा कहाँ पुग्यो प्रहरी?


काठमाडौं– बैतडी दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कार र हत्या अनुसन्धानमा सुदूरपश्चिम प्रहरी प्रमुख नायव महानिरिक्षक (डिआईजी) उत्तम सुवेदी आफैं सक्रिय भएका छन्।

१७ बर्षिया भट्टको बलात्कार र हत्याको अनुसन्धानलाई सूक्ष्म बनाउँदै परिणाम निकाल्नका लागि प्रहरी सक्रिय रहेको बताइएको छ। यसका लागि भागरथी भट्टका तीन सीमकार्डमा आएका फोन र सम्पर्कमा रहेका व्यक्ति, म्यासेन्जरमा भएका कुराकानीका विषयमा प्रहरीले गहिरो अनुसन्धान थालेको प्रहरीका उच्च अधिकारीले बताए।

प्रहरीले सम्भावित अभियुक्तका विषयमा गहिरो अध्ययन र पहिचानको खोजीनीति सुरु गरेको छ। ‘अनुसन्धान निक्कै गहिरो गरी जारी राखिएको छ। यस प्रकरणको अनुसन्धानमा कुनै पनि बाधा हुने खालका काम नगरिदिन हामीले सम्बन्धित पक्षलाई पनि अनुरोध गरेका छौं’, प्रहरी उच्च स्रोतले भन्यो।

भागरथीसँग सम्पर्कमा रहेका व्यक्तिहरूको कल रेकर्ड डिटेल (सिडिआर) प्रहरीले निकालिसकेको छ। उनीसँग अति निकट रहेका व्यक्तिमाथि प्रहरीले रेकी समेत गरिसकेको छ।

भागरथीको हत्या भएपछि भेटिएका प्रमाणहरू प्रहरीको विधिविज्ञान प्रयोगशालामा परिक्षण भइसकेका छन्। ‘यसले पनि केही नतिजा निकाल्नमा ठूलो सहयोग गरिरहेको छ’, अनुसन्धानमा खटिएका एक जना अधिकारी भन्छन्।

अबका केही दिनमा नै प्रहरीले अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गर्न सकिने आधारमा काम अघि बढाएको छ। त्यसका लागि डिआईजी सुवेदी घटनास्थलमा नै खटिएका छन्।

‘यस पटक अनुसन्धानमा अप्ठेरो पर्ने त्यस्तो केही छैन। सबै पक्षबाट सहयोग भएको छ। प्रहरीले टुंगो लगाउनेछ’, स्रोतले भन्यो।

प्रतिक्रिया