
बाल दिवस : सडक दौड प्रतियोगितामा प्रशान्त र बिनु प्रथम
अन्तर्राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा जिल्ला खेलकुद विकास समिति कास्कीद्वारा आज पोखरामा आयोजित विद्यालयस्तरीय सडक दौड प्रतियोगिताको छात्रछात्रातर्फ प्रशान्त विश्वकर्मा र बिनु विश्वकर्मा प्रथम भएका छन् ।
लेकसाइडस्थित डिहिकोपाटनचोकबाट सुरु भई फेवातालको शिर खपौदिसम्मको तीन किलोमिटर छात्रतर्फ द्वितीय पवन क्षेत्री, तृतीय निशान पुन र आशिस रानाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
त्यसैगरी उक्त सडक दौड प्रतियोगतामा छात्रातर्फ अनु भण्डारी, बालकुमारी विश्वकर्मा, सोनिया परियार क्रमशः द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्न सफल भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा चौथो हुने विद्यार्थीले क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार र रु दुई हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगतामा पाँचाैँ देखि २५औँ स्थानसम्म प्राप्त गर्ने छात्रछात्रालाई मेडलको व्यवस्था गरिएको थियो ।
गण्डकी प्रदेशका निवर्तमान अर्थमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशका संयोजक किरण गुरुङले प्रतियोगितामा विजयी छात्रछात्रालाई पुरस्कृत गर्दै खेलकुदले शारीरिक एवम् मानसिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कोरोनाका कारण लामो समयसम्म अनलाइनमार्फत अध्ययनरत विद्यार्थीका लागि यस्ता प्रतियोगिताले उत्साह थप्ने जनाउँदै उनले प्रतियोगतामा विजयी हुनुभन्दा पनि सहभागिता जनाउनु महत्वपूर्ण भएको उल्लेख गरे ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले यस्ता प्रतियोगिताले नयाँ खेलाडी जन्माउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगितामा जिल्लास्थित सामुदायिक एवम् संस्थागत विद्यालयका १६ वर्षमुनिका ५०० भन्दा बढी छात्रछात्राको सहभागिता थियो ।



कागजपत्र |
