आजदेखि विद्युतको नयाँ महसुल दर लागू, न्यूनतम शुल्क ३० रुपैयाँमात्र
काठमाडौं – आज (मंसिर १ गतेदेखि) विद्युतको नयाँ महसुल दर लागू भएको छ । नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावअनुसार विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महसुल दर आज देखि लागू भएको हो । विपन्न नागरिकहरूलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताहरूलाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँमात्र लाग्नेछ ।
मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकहरूलाई लाभ पुग्नेछ । आयोगले ग्राहस्थ वर्गमा विद्युतको उपभोग बढाउन तथा उपभोक्ता माझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न ग्राहस्थ वर्गको महशुलमा औसतमा २.८४ प्रतिशतले घटाएको हो ।
सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महशुलमा २५ रुपैयाँले कटौती गरी क्रमशः १००, १२५ र १५० रुपैयाँ कायम गरेको छ । त्यस्तै, मासिक ४०० युनिटमाथि विद्युत खपत गर्ने उपभोक्ताहरूको इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाएको छ ।
यसैगरी, सिंगल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पियर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महशुल दरमा २५ रुपैयाँले घटाएर क्रमशः १५०, १७५, २०० र २५० रुपैयाँ कायम गरिएको छ । विपन्न नागरिकहरूलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको हकमा इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्नेछ ।
सिंगल फेजबाट आपूर्ति लिइ मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्नेहरूको हकमा साविकको दरमा प्रति युनिट ५० पैसा घटाएर प्रतियुनिट ९.५० रुपैयाँ कायम गरिएको र सिंगल फेजबाट आपूर्ति लिइ मासिक ४०० युनिटभन्दा माथि विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको हकमा इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाइएको छ ।