

कर्तव्य ज्यान मुद्दाका फरार ३० वर्षपछि पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तनहुँले कर्तव्य ज्यान मुद्दाका फरार एक व्यक्तिलाई ३० वर्षपछि मंगलबार पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ बस्ने ४९ वर्षीय टोपबहादुर चन्द ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
विसं २०४७ असोज ६ गते सोही वडा निवासी भीमबहादुर परियारलाई दाउराको चिर्पटले टाउकामा प्रहार गरी हत्यापश्चात् ठकुरी फरार रहेका थिए । तनहुँ जिल्ला अदालतले ठकुरीलाई २०७२ साउन २८ गते सर्वश्वसहित जन्मकैद हुने फैसला सुनाएको थियो । सो मुद्दामा उच्च अदालत पोखराले २०७४ असार १९ गतेको फैसलाले तनहुँ जिल्ला अदालतको फैसला दोहो¥याई १० वर्ष कैद सजाय हुने गरी फैसला गरेको थियो ।
यस मुद्दामा पुनः सर्वोच्च अदालतको २०७५ कात्तिक १३ गतेको फैसलाले उच्च अदालतको फैसला नै सदर गरी १० वर्ष कैद सजाय सुनाएकामा तोकिएको कैद भुक्तान नगरी फरार रहँदै आएका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी निरीक्षक जगदिश रेग्मीसमेतको टोलीले यही मङ्सिर २२ गते बेलुकी काठमाडौँ महानगरपालिकास्थित एक होटलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी तनहुँ ल्याएको हो । पक्राउ परेका ठकुरीलाई तनहुँ जिल्ला अदालतसमक्ष उपस्थित गराइएकामा बाँकी कैद सजाय भुक्तानीका लागि जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

