टी–२० क्रिकेटः आजदेखि नेपाली राष्ट्रिय महिला टोली र कतारबीचको खेल हुँदै
काठमाडाैं – नेपाली राष्ट्रिय महिला टोली र कतारबीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदैछ। पहिलो खेल दिउँसो ३ः४५ बजे दोहाको वेष्ट इन्ड पार्क रङ्गशालामा सुरु हुनेछ ।
कोरोना महामारीका कारण प्रतियोगिताबाट वञ्चित भएको नेपाली महिला टोलीले २३ महिनापछि आज क्रिकेट श्रृङ्खला खेल्दैछ । आईसीसी वुमन्स टी–२० विश्व कप अन्तर्गत एसिया छनोटको तयारीका लागि नेपाली महिला क्रिकेट टोलीले कतारसँग ३ वटा टी–२० खेलको श्रृङ्खला खेल्न लागेको हो ।
कतारसँग भोलि दोस्रो र पर्सि तेस्रो खेल खेलेपछि नेपाली टोली छनोट खेल्न सिधै यूएई जानेछ। छनोटको पहिलो खेलमा नेपालले मंसिर ६ गते हङकङसँग, सात गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्व कपको लागि नेपालसहित ६ देशले ग्लोबल छनोटको लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन्। समूह विजेता टोलीले ग्लोबल छनोट खेल्न पाउनेछ।