जुवाखालमा कास्की प्रहरीको छापा, १८ लाख नगदसहित ६ जना जुवाडे पक्राउ


पोखरा – कास्की प्रहरीले १८ लाख नगदसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ । पोखरा–१२ चापापानीबाट उनीहरु पक्राउ परेका हुन्।

नवीन गौचनको घरमा तास खेलिरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो। उनीहरुको साथबाट १८ लाख ७५ हजार ५ सय ३० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा मुस्ताङ थासाङ घर भई पोखरा बस्ने नवीन गौचन, पोखरा फूलबारीका काजी गुरुङ, माटेपानीका सुर्य गुरुङ, दैलेख नौमुले घर भई पोखरा विजयपुर बस्ने खम्बा सिंह राना, मादी गाउँपालिका घर भई पोखरा संगम टोल बस्ने खेमराज गुरुङ र पोखराका श्याम श्रेष्ठ छन्।

जुवा खेलाउनका जुवाडे टोलीले घर नै भाडामा लिइ सिसिटिभी क्यामेरासहित जडान गरी संगठितरूपमा जुवा खेल्ने खेलाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए।

प्रतिक्रिया