

अदालतमा राजनीतिक हस्तक्षेप गरेर हुँदैन : उपेन्द्र यादव

मोरङ – जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या त्यहिभित्रबाट समाधान हुनुपर्ने बताएका छन् ।
‘न्यायालयभित्रको समस्याको समाधान त्यहींभित्रबाट खोज्नुपर्छ र उहाँहरूले गर्नु हुन्छ, एकाध दिन ढिलो चाँडो मात्रै हो । अदालतमा राजनीतिक हस्तक्षेप गरेर हुँदैन किनकी दुनियाँमा कहीं पनि यस्तो चलन छैन । त्यसैले गठबन्धनले समस्याको समाधान सम्बन्धित निकायबाटै चाहेको हो,’ विराटनगरमा शनिबार पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष यादवले भने ।
संविधान पुनर्लेखन गर्नुपर्ने माग गर्दै आएका अध्यक्ष यादवले मुलुकमा अहिले देखिएको समस्याको मूल कारण त्रुटीपूर्ण संविधान नै भएकाले संशोधन गरेर परिमार्जन गर्नुपर्ने बताए । संविधान संशोधन आम नेपाली र सबै दलको सरोकारको विषय भइसकेकोले यसका लागि साझा सहमति आवश्यक भएको अध्यक्ष यादवले बताए ।
नेता यादवले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे राष्ट्रिय सहमति आवश्यक रहेको बताएका थिए । एमसीसी पास हुनुपर्ने तर राष्ट्रहितलाई ध्यानमा राखेर मात्रै गर्नुपर्ने उनको भनाइ थियो ।

