

मन्त्री साहद्वारा छठका व्रतालुलाई नगदसहित सारी वितरण

राजविराज – प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छठका व्रतालुलाई नगद ५५ हजारसहित ११० थान सारी वितरण गरेका छन् ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१० का ११० जना छठ व्रतालुलाई जनही नगद ५०० र एक थान सारी मन्त्री साहले प्रदान गरेका हुन् ।
स्थानीय रामलखन मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्री साहले छठ पर्वलाई हर्षोल्लासका साथ मनाउन प्रोत्साहन गर्न सानो सहयोग गरेको बताए ।
छठ पर्वको जगेर्नामा मधेशका महिलाको ठुलो योगदान रहेको चर्चा गर्दै प्रदेश सरकार सबै जातजातिको सांस्कृतिक पर्वको संरक्षणमा प्रतिबद्ध रहेको उनले बताए ।
कार्यक्रममा जनता समाजवादी पार्टी तराई मधेश प्रदेश समितिका सदस्य दिनेश यादव, जसपा नेता देवेन्द्र झा, जसपा क्षेत्रीय अध्यक्ष रामचन्द्र साहलगायत स्थानीय नेताको उपस्थिति रहेको थियो ।

