प्रधानन्यायाधीशले पेसी तोकेका २९८ मुद्दा मध्य बन्दीप्रत्यक्षीकरणको एउटा मुद्दामा सुनुवाइ, अन्य हेर्न नभ्याइनेमा


काठमाडौँ – सर्वोच्च अदालतमा आज (मंगलबार) न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले बन्दीप्रत्यक्षीकरणसम्बन्धी एउटा मुद्दामा सुनुवाइ गरेका छन् । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूसहित १६ जना न्यायाधीशलाई १० वटा इजलास तोकेका थिए ।

आफूलाई एकल इजलास र अन्य १६ जना न्यायाधीशलाई उनले ९ वटा संयुक्त इजलास तोकेका थिए । न्यायाधीशद्वय केसी र शर्मालाई एउटा बन्दीप्रत्यक्षीकरणसहित ३६ वटा मुद्दामा पेशी तोकिएको थियो । अन्य २ सय ९७  मुद्दा भने हेर्न नभ्याइनेमा राखिएको छ ।

कात्तिक ८ गतेपछि केही दिन बन्दीप्रत्यक्षीकरण मुद्दा मात्रै पेसीमा चढाएका प्रधानन्यायाधीश जबराले मंगलबार अन्य मुद्दाको पनि पेसी तोकेका थिए । प्रधानन्यायाधीश जबराबाहेकको इजलासमा पेशी तोकिएका मुद्दाको स्थितिमा भने बेन्च नबसेको उल्लेख छ ।

न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबराले विकल्प दिनुपर्ने मागसहित सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा हेरेका छैनन् । त्यस्तै, प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले पनि लगातार आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया