धनुषामा छोरा नजन्माएको भन्दै श्रीमतीको हत्या


काठमाडौं – धनुषामा एक श्रीमानले श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। छोरा जन्माउन नसकेको भन्दै सबैला नगरपालिका–३ बस्ने ३५ वर्षीय लालबाबु साफीले श्रीमतीको हत्या गरेका हुन्।

३० वर्षीया श्रीमती अजमेरी खातुनलाई ‘बझिनिया’ भन्दै लालबाबु साफीले घाँटी थिचेर हत्या गरेको माइती पक्षको आरोप छ। उनीहरुले १३ वर्षअघि प्रेम विवाह गरेका हुन्।

लामो समयदेखि छोरा र दाईजोलाई लिएर लालबाबु साफी र उनका बहिनी नुरजहा खातुन, दाई मन्जुर साफीले अजमेरीलाई मानसिक तनाव दिँदै आएको पीडित परिवारकरो भनाई छ।

मृतक खातुनको शरिरभरि चोटपटक देखिएको र घाँटीमा समेत डाम देखिएको पीडित परिवारले बताएका छन्। गत ८ कात्तिकमा पनि रक्सी खाएर लालबाबु साफीले खातुनमाथि आक्रमण गरेका थिए।

प्रहरीमा किटानी जाहेरी दिएपनि प्रहरीले आरोपीलाई कारबाही गर्न तदारुकता नदेखाएको मृतक परिवारको आरोप छ। यता घटनामा भएलगतै मृतकका श्रीमान लालबाबुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया