

भारतको एक अस्पतालको आईसीयूमा आगलागी हुँदा ११ बिरामीको मृत्यु

नयाँदिल्ली – भारतको एक अस्पतालको कोभिड–१९ वार्डमा आगलागी हुँदा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारतको महाराष्ट्रस्थित अहमेदनगरस्थित जिल्ला नागरिक अस्पतालको आईसियूमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको जनाइएको छ । उक्त आईसीयूमा कोभिड–१९ संक्रमित बिरामीहरुको मात्र उपचार गराइँदै आएको थियो ।
आईसीयूमा आगलागीको बखत १७ जना बिरामी रहेकोमा अन्यलाई उद्धार गरिएको जनाइएको छ । मृतकहरु अधिकांश वृद्ध उमेरका भेन्टिलेटर र अक्सिजनमा राखेर उपचार गरिरहेको थियो ।
दिउँसो साढे १ बजेतिर लागेको आगो कसरी लाग्यो भन्नेमा अनुसन्धान भइरहेको जनाइएको छ । तर प्रहरीले बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेको छ ।
उक्त घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली दिएका छन् भने अन्य बिरामीहरुको उपचारका लागि जोड दिएका छन् ।

