सियरालियोनमा ट्यांकर विस्फोट, ८४ को मृत्यु, कैयौं घाइते


सियरा लियोन— पश्चिम अफ्रिकी मुलुक सिएरा लियोनको राजधानी फ्रिटाउनमा एक इन्धन ट्यांकर विष्फोट हुँदा कम्तीमा ८४ जनाको मृत्यु भएको छ ।

उक्त विष्फोटमा परी दर्जनौं मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थानीय सञ्चारमाध्यममा देखाइएका भिडियो फुटेजमा सडकमा क्षतविक्षत् अवस्थामा शवहरु छरिएको देखिएको छ । इन्धन भरिएको ट्यांकर ट्रकसँग ठोक्किँदा विष्फोट भएको हो ।

फ्रिटाउनका मेयर यवोन अकी–सावयेरले विष्फोटबाट ठूलो संख्यामा मानवीय क्षति भएको र यसको विस्तृत विवरण आइनसकेको बताएका छन् । एक सय जनाभन्दा बढीको उक्त घटनामा मृत्यु भएको हुनसक्ने उनको अनुमान छ ।

सिएरा लियोनको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख ब्रीमा बुरेह सेसेयले घटना हृदय विदारक भएको बताएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

फ्रिटाउन शहरमा १० लाखभन्दा बढी मानिस बसोबास गर्दछन् । गत मर्चमा पनि त्यहाँको एक सुकुम्बासी क्षेत्रमा आगलागी हुँदा ८० जनाको मृत्यु भएको थियो । यस्तै २०१७ मा भारी वर्षाका कारण एक हजार जनाभन्दा बढीको मृत्यु भएको थियो भने ३ हजारभन्दा बढी मानिस विस्थापित भएका थिए ।

प्रतिक्रिया