नेपालमा प्रतिबन्धित लागुऔषधसहित तीन पक्राउ


जलेश्वर – महोत्तरी प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका-१ बस्ने ३२ वर्षीय पङ्कज साह, ३१ वर्षीय रञ्जीत थापा र सिन्धुलीको कमलामाई नगरपालिका-६ बस्ने २९ वर्षीय जीवन तामाङ रहेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

भारतको विहार राज्यको कन्हमा सहरबाट लागुऔषध बोकी महोत्तरीको सम्सी सीमानाकाबाट नेपाल प्रवेश गरेका तीनै जना युवकलाई गए राति प्रहरीले जिल्लाको औरही नगरपालिका-४ स्थित सडकखण्डमा जाँच गर्दा उनीहरू लागुऔषधसहित पक्राउ परेका हुन् ।

उनीहरूका साथबाट प्रहरीले एक्सिप्लोन १०० एमएलको झोल पदार्थ ११ बोतल, स्पास्मो प्रोक्सिभन प्लस ट्याब्लेट १६ पिस, नाइटाभेट ट्याब्लेट २१० थान, डाइजालेब ट्याब्लेट तीन थान र फेनारगन ट्याब्लेट तीन थान बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका तीनै युवकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

प्रतिक्रिया