सयपत्री फूलको आयात १५ प्रतिशतले बढ्ने


काठमाडौँ – यस वर्ष नेपालमा सयपत्री फूलको आयात बढ्ने भएको छ ।

विगतका वर्षहरुमा कुल खपतको १० प्रतिशत सयपत्री फूल भारतबाट आयात हुने गरेकोमा यो वर्ष बढेर १५ प्रतिशत आयात हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

केही दिन अघिको बेमौसमी भारी वर्षाले पनि फूल खेतीमा क्षति भएकोले आयात बढ्ने एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए। उनका अनुसार बेमौसमी वर्षाले लुम्बिनी प्रदेशमा फूल खेतीमा बढी नोक्सान पुर्‍याएको छ ।

तिहारमा १५ लाखको हाराहारीमा सयपत्रीको माला खपत हुने गर्छ । १५ लाखमा यो वर्ष २ लाखदेखि साढे २ लाख वटासम्म माला भारतबाट आयात हुने अनुमान गरिएको तामाङले जानकारी दिए ।

तिहारका लागि मखमली र गोदावरी फूल भने स्वदेशकै उत्पादनले पुग्ने एसोसिएसनले जनाएको छ। तिहारमा मखमली र गोदावरीको करिब ३ लाख माला खपत हुन्छ । यसैबीच फूलहरुको पर्व तिहार नजिकिँदै गर्दा यो वर्ष पनि ललितपुरको जावालाखेलमा गोदावरी फुलको प्रदर्शनीको तयारी भएको छ ।

फ्लोलिकलचर एसोसिएसन नेपालले यही कार्तिक १२ गतेदेखि १५ गते सम्म १४ औँ गोदावरी पुष्प प्रदर्शनी गर्न लागेको हो ।

प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष तामाङले बताए । प्रदर्शनीमा ४८ वटा स्टल राखिनेछ ।

प्रतिक्रिया