पूर्वप्रधानन्यायाधीशहरुलाई घरमै पुगेर किन भेट्दैछन् प्रधानन्यायाधीश?


काठमाडौँ — संवैधानिक नियुक्तिमा र मन्त्रिपरिषद् विस्तार गर्दा भाग लिएको आरोप लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रश्नैप्रश्न तेर्सिएको छ।

पूर्वन्यायाधीशहरूले एक स्वरमा बहालवाला प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन र उनले त्यसो नगरे महाअभियोग लगाउन संसद्लाई अग्रसर हुन आग्रह समेत गरेका छन्। त्यसपछि जबरा झनै तर्सिएका छन्।

पूर्वन्यायधशिहरुले यसो भनिरहँदा प्रधानन्यायाधीश जबराले भने चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ। दसैं बिदामा उनले पूर्वप्रधानन्यायाधीशहरूलाई घरमै पुगेर भेट गरेका हुन्।

तीन दिनमा प्रधानन्यायधीश जबराले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई भेटेको स्रोतले जानकारी दियो।

२६ असोजको बिहान १०ः२५ बजे पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निवास पुगेका प्रधानन्यायधीश जबरा २७ असोजको दिउँसो ३ बजे कार्की निवास पुगेको स्रोतले बतायो। त्यस्त्ै २८ असोजको बिहान ११ बजे रायमाझी र दिउँसो ३ बजे शर्माकहाँ पुगेका थिए।

एकपछि अर्को विवादका कारण जताततैबाट घेरिएका प्रधानन्यायधीश जबराले सहानुभूति खोज्न अग्रजहरूलाई भेटेको हुनसक्ने बताइएको छ। जबरा एक्लैले पूर्वप्रधानन्याधीशहरुलाई भेटेका भने होइनन, साथमा न्यायाधीश मनोजकुमार शर्मा पनि थिए।

स्रोतका अनुसार चार पूर्वप्रधानन्यायाधीशलाई वारेस पनि नराखी आफैं हाजिर हुन आदेश दिने न्यायाधीश शर्मालाई नै लिएर जबरा पूर्वप्रधानन्याधीशहरुको घरघरमा गएका हुन्।

प्रधानन्यायाधीश जबराका शृंखलाबद्ध विवादास्पद कदमले न्यायालयको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र जनआस्था संकटमा परेको भन्दै पूर्वन्यायाधीशहरू एक भएर उभिएका छन्। उनीहरुले जबरालाई उदारता देखाएर मार्गप्रशस्त गरिदिन आग्रह गरेका छन्।

प्रतिक्रिया