अफगानिस्तानको शिया मस्जिदमा आत्मघाती हमला, ४७ जनाको मृत्यु


एजेन्सी – अफगानिस्तानको कान्दहार शहरस्थित एक शिया मस्जिदमा बम आक्रमण भएको छ। आक्रमणमा परी ४७ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।

शुक्रबारको साप्ताहिक प्रार्थनाका बेला बीबी फातिमा मस्जिदमा बम आक्रमण भएको थियो। अलजजिराका अनुसार विष्फोटमा ४७ जनाको मृत्यु भएको पुष्टि भएको छ।

तीन जना आक्रमणकारीले आत्मघाती बम आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्। एक जना आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा र दुई जनाले भित्र विष्फोट गराएका थिए।

शुक्रबारको साप्ताहिक प्रार्थना हुने भएकाले मस्जिद मानिसहरुले भरिभराउ थियो। घटनास्थलको तस्वीरमा मस्जिदका झ्यालका सिसाहरु फुटेका र शवहरु भुइँमा यत्रतत्र छरिएको देखिएको छ।

तालिबानले विशेष सुरक्षा फौजले घटनास्थल घेरामा राखेको छ र घाइतेहरुको उपचारका लागि रगत आवश्यक परेकाले रक्तदान गर्न आह्वान गरेको छ।

अहिलेसम्म यो आक्रमणको जिम्मा कसैले पनि लिएको छैन।

प्रतिक्रिया