गठबन्धनका कारण पार्टीभित्रका महत्त्वपूर्ण साथी छुटे : प्रधानमन्त्री देउवा


काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विस्तार गर्दा महत्त्वपूर्ण नेताहरू छुटेका बताएका छन् । प्रधानमन्त्री देउवाले सरकार गठन भएको लामो समयमा हिजो (शुक्रबार) मन्त्रीपरिषद विस्तार गरेका हुन् ।

स्कुल अफ डेमोक्रेसीद्वारा बालुवाटारमा आज आयोजित विश्वेश्वरप्रसाद कोइराला : शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धनका कारण पार्टीभित्रका महत्वपूर्ण नेताहरुलाई पनि अवसर दिन नसकेको बताए । गठबन्धनका अन्य पार्टीमा पनि यस्तै समस्या भएको हुनसक्ने भन्दै उनले यो बाध्यतालाई बुझ्नुपर्ने बताए । अहिले छुटेका नेताहरूलाई उचित भूमिका दिनेसमेत प्रधानमन्त्री देउवाले आश्वासन दिएका छन् ।

‘हिजो मात्र हामीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छौँ’, उनले भने ‘आगामी दिनमा साथीहरूलाई समेटिनेछ ।’ प्रधानमन्त्री नियुक्त भएको ८८ दिनपछि देउवाले हिजो (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए तर राजनीतिक दलहरूबीचको भागबन्डामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम जोडिएपछि देशमा नयाँ बेथिति संस्थागत हुने भय बढेको छ ।

प्रधानन्यायाधीश जबराका जेठान तथा गैर सांसद गजेन्द्र हमाललाई मन्त्री बनाएर न्यायपालिका, संविधानवाद र लोकतन्त्रमाथि हमला गरिएको भन्दै पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश र वरिष्ठ अधिवक्ताहरूले गम्भीर आपत्ति जनाएका छन् ।

प्रतिक्रिया