

हराउँदै रातो माटो, खोटो र कमेरोले घर रंगाउने चलन

धनकुटा – दशैं र तिहारको समयमा ग्रामीण क्षेत्रमा रातो माटोसहित खोटो र कमेरोले घर रंगाउने प्रचलन हराउँदै गएको छ। परम्परागत शैलीका ढुंगा, माटो तथा काठ प्रयोग गरी बनाइएका घरमा ती वस्तको प्रयोग हुने गर्दथ्यो। पछिल्लो समय सिमेन्ट प्रयोग गरेर घर निर्माण हुन थालेपछि रातो माटो‚ कमेरोले रंगाउने चलन हराउँदै गएको हो ।
केही वर्ष अघिसम्म दशैंअघि धनकुटामा घर रंगाउनका लागि यहाँका चिम्टिया र रातो माटो भएका ठाउँमा ठूलै संख्यामा सर्वसाधारण माटो लिन जान्थे। माटोले लिपपोत गरेपछि घर चिटिक्क हुने स्थानीय दिलकुमारी थापाले सुनाइन्। पछिल्ला समयमा सिमेन्टको प्रयोग बढ्न थालसँगै माटो, कमेरो र खोटोको विकल्पमा आधुनिक रङको प्रयोग बढेको उनको भनाइ छ।
रातो माटो र कमेरो घरको भित्ता रंगाउन प्रयोग हुने र खोटो पकाएर झ्याल ढोकामा लगाउने गरिन्थ्यो। विशेष गरी छिप्पिएको सालको लोप्रा ताछेर पानीमा पकाएर कालो रङको खोटो तयार गरिन्छ। सालको लोप्राबाट बनाइएको खोटो वर्षमा एक पटक झ्याल ढोकामा लगाएपछि धमिराले नखाने तथा धुल्याहा नलाग्ने नरबहादुर विश्वकर्मा बताउँछन्।
‘विगतमा घरमा रातो माटो, खोटो र कमेरोले लिपपोत गर्नु दशैं तिहारसँगै जोडिएको संस्कृतिको अर्को पाटो जस्तै बनेको थियो’, विश्वकर्माले भने, ‘आधुनिकतासँगै विगतका प्रचलन हराउँदै गएपछि अहिलेको पुस्तालाई भने ती कुरा इतिहास जस्तै बन्ने गरेको छ।’

