
मुटु सुन्निने समस्या देखिएपछि डेनमार्क र स्विडेनमा मोडर्ना खोप लगाउन रोक
काठमाडौ – डेनमार्क र स्विडेनले कम उमेरका युवायुवतीलाई कोरोना विरुद्धको मोडर्ना खोप रोक्ने भएका छन् ।
मुटु सुन्निने जस्तो विरलै देखिने साइट इफेक्ट देखिएको भन्दै ती देशहरुले कम उमेर समूहलाई खोप लगाउने क्रम रोक्ने बताएका हुन् ।
खोप लगाएका युवायुवतीहरु मध्ये केहीमा मुटु सुन्निने समस्या देखिएको भन्दै स्विडेनको स्वास्थ्य एजेन्सीले तत्कालका लागि २० वर्ष मुनिको समूहमा खोप अभियान रोक्ने जनाएको हो ।
खोपको दोस्रो मात्रा लगाएपछि त्यस्तो समस्या देखिएको तर समस्या ठुलो भने नभएको पनि बताइएको छ । उता, डेनमार्कले पनि १८ वर्ष भन्दा मुनिको समूहलाई पूर्व सतर्कता नअपनाई खोप नदिने बताएको छ ।
स्वीडेनका प्रमुख महामारीविद् एन्डर्स टेगनेका अनुसार परिस्थितिलाई नजिकबाट नियालेर कोभिड विरुद्धको खोप पुनः लगाउँन सकेसम्म सुरक्षाको सुनिश्चिता भएपछि छिटै आवश्यक कदम चालिनेछ।
गत जुलाईमा युरोपेली औषधि एजेन्सीले १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिलाई उक्त खोप लगाउँने अनुमति प्रदान गरेको थियो । युरोपेली युनियनका २७ देशहरूमा १८ वर्षमाथिका व्यक्तिहरूलाई सो खोप लगाउँन गत जनवरीमा अनुमति प्रदान गरिएको थियो। यद्यपि यो खोप हालसम्म बालबालिकालाई लगाउँन भने अनुमति दिइएको छैन ।
समस्या ज्यादै कम भए पनि मुटु सुन्निने समस्याको अनुसन्धान पूरा नभएसम्मका लागि सतर्कता अपनाउने डेनिस स्वास्थ्य मन्त्रालयले बताएको हो । मोडर्ना खोपको सट्टा फाइजर र बायोएनटेकको खोप लगाउने पनि ती देशहरुले बताएका छन् ।
यस्तै नर्वे र फिनल्यान्डले पनि ३० वर्ष मुनिको जनसंख्यालाई मोडर्नाको सट्टा अरु खोप लगाउने विकल्प दिने बताएका छन् । एजेन्सी



कागजपत्र |
