एकैपटक ५ सन्तानले भरिएको सोमिकाको त्यो कोख, यसरी हुर्कँदैछन् तीन छोरी

एक वर्ष पुग्दासम्म अझै नाम राखिएको छैन


नुवाकोट – सोमिका तामाङले पाँच वटा शिशु जन्म दिएको आज ठिक एक वर्ष पूरा भएको छ।

अहिले तीन छोरीहरूको स्याहारसुसारमा व्यस्त सोमिकालाई आफू संसारकै भाग्यमानी आमा लागेको बताउँछिन्।

उनी भन्छिन्, “नानीहरूको स्याहारसुसारमा एक वर्ष बितेको पत्तै पाइनँ।”

बिहे गरेको ९ वर्षपछि बच्चा हुँदा, एकै पटक ३ छोरीहरू हुर्काउन पाउँदा अनेकौँ दुख कष्ट भए पनि बच्चाको हाँसोमा आफूले सबै पीडा बिर्सिने गरेको सोमिका बताउँछिन्।

उनले भनिन्, “गर्भावस्थाका बेला जीवन र मृत्युको दोसाँधमा लड्दै गरेकी जस्ती भएकी थिएँ। बच्चा जन्माएपछि अहिले एक वर्ष खुसी भएरै बिताएकी छु।”

शिशुहरूको स्याहारसुसारमा परिवार र एक जना सहयोगी समेत दत्तचित्त छन्। राजनीतिमा सक्रिय सोमिकाका श्रीमान्‌ले पनि सहयोग गर्ने गरेको बताउँछिन्।

एकैपल्ट तीन देवी जन्म दिएको भनेर परिवार खुशी छ। तर समाजका कैयौँले तीन छोरी जन्मे अब फेरि छोरा पाउने होला भन्ने गर्छन्।

“त्यस्तो सुन्दा दुख लाग्छ यो समाजले किन छोरालाई बढी महत्त्व दिएको होला भनेर,” उनले भनिन्।

शुरूका दिन

सोमिकाको दूधले एक महिनासम्म तीन छोरीलाई पुग्थ्यो। तर दोस्रो महिनादेखि नै अन्य दूध खुवाउन थालिन्। साढे पाँच महिनादेखि भने लिटो, जाउलो तथा फलफूलहरू पनि खुवाउँदै आएको उनले बताइन्।

कैयौँ जुम्ल्याहा, तिम्ल्याहा बच्चाहरूको रुचि र स्वभाव एउटै हुने भए पनि उनका छोरीहरूका स्वभाव भने फरक फरक रहेको सोमिकाले बताइन्।

राती नौ दश बजेतिर भने पालैपालो केही समयको फरकमा निदाउने गरेका छन्।

खाने खुवाउने बेला भने बच्चाहरूको व्यवस्थापन चुनौतीपूर्ण रहने गरेको छ।

उनी भन्छिन्, “खान खुवाउन करिब डेढ घण्टा लाग्छ ३ जनानै एकै ठाउँमा झुम्मिन्छन्। कहिले कहिले एक अर्कालाई दलिदिने, कपडाहरू तान्दिने अनि रुने, एकलाई खुवाए अर्की अन्तै गइरहेकी हुन्छे फेरि तानेर ल्यायो अर्की के गरिरहेकी हुन्छे। कहिले त आआफ्नो बिहानको खान खाने समय नै घर्किन्छ।”

उनले बच्चाहरूलाई हप्तामा एक पटक नुहाइदिने गरेकी छन्। त्यस दिन उनी अन्य दिनभन्दा बढी नै व्यस्त हुन्छिन्।

पालैपालो नुहाउने, तेल लगाउने अनि सुताउने गर्दा दिन बित्छ।

उनले आफ्ना छोरीहरूको नाम भने अझै राखेकी छैनन्।

सोमिका भन्छिन्, “तीनै जनाको उस्तै सुनिने नाम राख्ने सोचमा छु।”

शुरूमा भिडिओ एक्स-रे गर्दा जुम्ल्याहा बच्चा छन् भन्ने सुन्दा उनको खुशीको सीमा रहेन।

अर्को पटक भिडिओ एक्स-रे गर्दा भने उनी “छाँगाबाट खसे झैँ” भइन्।

“मरिन्छ कि झैँ लाग्थ्यो। नर्सहरूले अरूले पनि चार वटा बच्चा जन्माएका छन् केही हुन्न आराम गरेर बस्नु भन्थे। तर मनमा अनेक कुरा खेलिरहन्थ्यो त्यसैले एक जना साथी अनिवार्य साथमा राख्थेँ।”

सोमिका र हरिकुमार तामाङको बिहे भएको ९ वर्ष भइसकेको थियो। त्यस बीचमा दुई पटक सम्म गर्भ खेर गएको थियो।

त्यसपछि लामो समयसम्म बच्चा नभएपछि उपचार गरेर गर्भ बसेको थियो।

पेटमा चार बच्चा भएको थाहा पाउने बित्तिकै उनीहरू राजधानी काठमाण्डू बस्न गए।

पहिलो पटक गर्भमा बच्चा चल्दा उनको फेरि एक पटक होस उडेको थियो।

“मुटुमुनि केही बुरुकबुरुक भयो। म त आत्तिएर जुरुक्क उठेँ। क्षामा (सानिमा)ले बच्चा चलेको हो। तिम्रो पेटमा धेरै वटा भएकाले त्यस्तो लाग्यो तिमिलाई भन्नुभयो। अनि बल्ल डर लागेन।” एक बच्चा मृत जन्मियो। चार जीवित थिए।

जन्मिँदा शिशुहरूको तौल १९ सय ग्राम, १८ सय ग्राम, १६ सय ग्राम र ८ सय ग्राम रहेको थियो।

८ सय ग्राम मात्र रहेको शिशुको तौल न्यून भएकाले स्वास्थ्यकर्मीको सुझाव अनुसार जन्मे लगतै आईसीयूमा राखे पनि एक हप्तापछि मृत्यु भएको अस्पतालले जानकारी दिएको सोमिकाका श्रीमान् हरिकुमार तामाङले बताए।

जेठी छोरी १८ सय ग्राम जन्मेकोमा अहिले ९ किलोकी भइन्। माइली १९ सय ग्राम रहेकोमा अहिले पौने ९ किलोकी छन्।

र कान्छी १६ सय ग्रामकी जन्मिएकीमा अहिले ८ किलोको भएकी छन्।

 

प्रतिक्रिया