
रक्षा मन्त्रालयमा कांग्रेस र एकीकृत समाजवादीको दाबी, अन्यमा सहमति
काठमाडौं– रक्षा मन्त्रालयमा सत्ता गठबन्धनका नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको दाबीका कारण मन्त्रिपरिषद विस्तार केही दिन धकेलिन सक्ने भएको छ। सत्ता गठबन्धनको मंगलबार बसेको बैठकले अन्य मन्त्रालयमा भने सहमति जुटाएको बताइएको छ।
रक्षा मन्त्रालयमा सहमति जुटेको खण्डमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद विस्तार गर्नेछन्। कांग्रेसले ६ मन्त्री र एक राज्यमन्त्री पाएको छ। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ५–५ मन्त्री र १–१ राज्यमन्त्री पाएका छन्।
कांग्रेसले अब सञ्चार र बालबालिका मन्त्रालय लिनेछन्। यसअघि नै प्रधानमन्त्रीसहित कांग्रेसले गृहमा बालकृष्ण खाँण, परराष्ट्रमा नारायण खड्का, कानुनमा ज्ञानेन्द्रबहादुर कार्की तथा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ पठाइसकेको छ।
नेकपा माओवादी केन्द्रले अब कृषि, खानेपानी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पाउने भएको छ। यसअघ अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जामन्त्रीमा पम्फा भुसाललाई उसले पठाइसकेको छ।
एकीकृत समाजवादीले पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, युवा तथा खेलकुद र रक्षा मन्त्रालय पाउनेछ। यद्यपि रक्षामा कांग्रेसको दाबी छ।
जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, श्रम तथा रोजगार, वन तथा वातावरण र शिक्षा मन्त्रालय पाउनेछ।



कागजपत्र |
