‘दशैंमा काठमाडौंको सुरक्षा अवस्था मजबुत छ’


काठमाडौं– हिन्दु धर्मावलम्बीहरूको मुख्य चाड दशैं लागेसँगै सहरबजार तथा कार्यथलोबाट जन्मथलो घर फर्किनेको चाप बढ्दो छ। काठमाडौं उपत्यकाबाट घर फर्किनेको ताँती रोकिएको छैन । उपत्यकाबाट दशैं मनाउन घरतर्फ जाने मानिसको भीडभाड हुन थालेको छ।

कोरोना भाइरस (कोभिड–१९) को कारण यसपालि पनि परिस्थिति भने त्यति सहज छैन। तर, पनि दशैं मनाउन घरतर्फ जाने मानिसहरुको संख्या त्यत्तिकै छ। बजार क्षेत्रमा मानिसको चहलपहल बढ्दो छ। घर फर्किनेको ताँती टीकाको अघिल्लो दिनसम्मै कायम रहन्छ।

काठमाडौं उपत्यकाबाट मात्रै होइन, अन्य जिल्ला तथा प्रमुख सहरका कार्यथलोबाट पनि घर फर्किनेको चाप बढ्दो छ। राजमार्ग र त्यस आसपासका होटल/रेस्टुरेन्टमा पनि चहलपहल बढेको छ। यो क्रम हरेक वर्ष खासगरी दशैंतिहारका बेला देखिन्छ।

पर्व मनाउन घर फर्किनेको संख्याले हर्ष, उल्लास र रमाइलोको पनि संकेत गर्छ। तर रमाइलोसँगै यो अवधिमा अपराधका घटना पनि बढ्न सक्छन्। कार्यथलोबाट चाडपर्व मनाउन घर गएको मौका छोपेर आपराधिक मानसिकता भएका व्यक्ति तथा समूहले चोरी, डकैती, लुटपाटजन्य गतिविधि बढाउन सक्छन् । अझ यो जोखिम सहरी इलाकामा बढी देखिन्छ।

त्यसमा काठमाडौं उपत्यका अति संवेदनशील ठाउँ हो। बसपार्क, ठूला–ठूला होटल, रेष्टुरेन्ट, डान्सबार, क्लब, बजार क्षेत्र, उद्योग कलकारखाना काठमाडौं जिल्लामा पर्छ। त्यसैले दशैंको बेला काठमाडौंको सुरक्षा व्यवस्थापन चुनौती हुन्छ।

त्यसैलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजालले आम सर्वसाधारणलाई ढुक्कसँग दशैं मनाउन आग्रह गरेका छन्। काठमाडौंको सुरक्षा अवस्था मजबुत रहेकाले ढुक्क भएर चाडपर्व मनाउन रिजालले आग्रह गरेका हुन्।

जिल्ला प्रशासन कार्यालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर अगाडि बढेको सीडीओ रिजालको भनाइ छ। चाडपर्वको बेला सर्वसाधारण ठगिने र असुरक्षित महसुस गर्ने हुँदा त्यस्ता आपराधिक कार्यलाई नियन्त्रण गर्नका लागि सुरक्षा योजना बनाएकोले सर्वसाधारणले सुरक्षाको अनुभूति गर्नसक्ने रिजालले बताए।

चाडपर्वको बेला आवतजावत गर्ने यात्रुको संख्या बढ्ने हुँदा उनीहरू ठगिने अवस्था आएमा वा कुनै समस्यामा परेमा लक्षित सहायता कक्ष (हेल्पडेस्क)को व्यवस्थासमेत गरिएको अनलाइनन्युजसँगको कुराकानीमा रिजालले बताए। ‘नयाँ बसपार्क, कोटेश्वर, बल्खुलगायतका ठाउँमा हेल्पडेस्क राखिएको छ भने कोभिड लक्षित सुरक्षा योजना लागू गराउनका लागि ट्राफिक प्रहरीलाई सक्रिय बनाइएको छ,’ उनले भने।

उनले चाडपर्वको बेला आर्थिक अपराधलगायत विभिन्न आपराधिक घटना घट्ने भएकाले काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिए। ‘हामीले प्रहरी वृत्तहरूबाट समेत घरदैलो कार्यक्रम गरी सबै ठाउँको बस्तुस्थितिको जानकारी लिइरहेका छौं, आपराधिक कार्य भएको पाइएमा तुरुन्त कारबाही गछौं,’ उनले भने।

त्यसैगरी उनले काठमाडौंको हरेक ठाउँमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको बताए। उनले उपत्यकाको सुरक्षा व्यवस्थालाई सशक्त बनाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायबीच समन्वय गरिएको रिजालको भनाइ छ।

उनले अहिले प्रत्यक्ष अनुगमन संघीय कानुनले स्थानीय तहलाई जिम्मा दिएको अवस्थामा समेत प्रशासनले स्थानीय निकायसँग समन्वयबाट तथा अन्य कानुनसँग तालमेल गरेर अनुगमनको कार्यलाई तीव्रता दिएको बताए।

चाडपर्व नजिकिँदै गर्दा आर्थिक अपराध, मादक पदार्थ सेवन, लागूऔषधको प्रयोग, ट्राफिक नियमको उल्लंघन, कालोबजारी जस्ता आपराधिक घटना घट्ने भएकाले त्यस्ता आपराधिक घटना न्यूनीकरण गर्नका लागि सुरक्षा व्यवस्था चुस्तदुरुस्त हुनुपर्ने रिजालको दाबी छ।

दशैंमा परिवारसँग बसेर रमाइलो गर्दा घरका अन्य पाटोमा ध्यान नपुग्दा त्यसको फाइदा चोरी÷डकैती गर्ने समूहले लिन सक्छन्। त्यसैले घरबाहिर निस्किँदा वा पर्व मनाउन घर जाँदा त्यसको जानकारी बहालमा बस्ने भए घरधनी र छरछिमेकलाई दिएर मात्र जान रिजालको सुझाव छ। लामो यात्राका लागि निस्कनुपरे सम्भव भएसम्म नजिकैको प्रहरी कार्यालयलाई समेत जानकारी गराउन रिजालको आग्रह छ।

त्यतिमात्र होइन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) ले समेत चाडपर्वका बेला हुन सक्ने अपराधजन्य गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना नै कार्यान्वयनमा ल्याएका छन्। दुवै सुरक्षा निकायले चाडपर्वका बेला सुरक्षा सतर्कता थप बढाउन भन्दै मातहतका कर्मचारीलाई घरबिदा बस्न पनि रोक लगाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीमा संलग्न पेसेवर गिरोहले सांकेतिक भाषा प्रयोग गरेर अपराध गर्ने गरेको भेटिए पनि मानिस नभएको मौका छोपेर हुने चोरीमा भने फलामे रड, अन्य घरेलु हातहतियारलगायत प्रयोग गर्ने भएकाले थाहा पाउने व्यक्तिले तत्कालै खबर गर्न समेत आग्रह गरेको छ।

प्रतिक्रिया