गृहमन्त्री बालकृष्ण खाँणकै नेता युवराज खातीको नाम क्रियाशील सदस्यमा छुटाउनुको कारण


काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा आफ्ना क्षेत्रमा रहेका इतर समूह र पुराना नेताको नाम क्रियाशील सदस्यतामा नै छुटाउने गरिएको छ।

आफ्नो दबदबा रहेको क्षेत्रका शीर्ष तहका नेताले सहयोग हुन नसक्ने देखेपछि कांग्रेसमा लामो समय योगदान गरेका व्यक्तिको नाम क्रियाशील सदस्यमा नराख्ने गरेको पाइएको छ।

यस्तो षडयन्त्र र रणनीतिको शिकार बनेका छन्, धनुषाका युवराज खाती। उनी हालका गृहमन्त्री बालकृष्ण खाँणका पनि नेता हुन्। विद्यार्थी कालमा त्रिविमा खाती स्ववियु सभापति हुँदा खाँण उपसभापति मात्र थिए।

‘सिनियर नेताको नाम यसरी क्रियाशील सदस्यमा नै नअटाउनु त गलत हुन्छ। यो प्राविधिक मात्र नभएर नियोजित षडयन्त्रका रुपमा लिनुपर्छ’, स्रोतले भन्यो।

क्षिरेश्वरनाथ नगरपालिका–७ का खातीले क्रियाशील सदस्यता नविकरण समेत गरिसकेका थिए। तर, उपसभापति विमलेन्द्र निधिको जिल्लामा उनीइतर समूहमा रहेका कारणले उनको नाम नअटाइएको कतिपयले बताएका छन्।

खाती स्वयम्ले भने आफूजस्तै धेरै पुराना नेता कार्यकर्ताको नाम यसरी छुटाइएको बताइसकेका छन्। उनले भनेका छन्,‘महाधिवेशनको सन्दर्भमा घात र प्रतिघात गरिएको छ, ममात्र होइन धेरै सिनियर नेता कार्यकर्तालाई यसो गरिएको छ।’

खाती ०४१ सालमा त्रिवि स्ववियु सभापति तथा ०३६ मा रारा बहुमुखी क्याम्पस धनुषामा पनि स्ववियु सभापति भइसकेका थिए। उनी ०३३ सालमा जेल परेका थिए।

राजनीतिमा ग्राउन्डमा रहेका उनी अवसर नपाए पनि अहिलेसम्म निष्ठावान कांग्रेसका रुपमा चिनिन्छन्।

प्रतिक्रिया