हाल कुनैपनि औषधिको मूल्य निर्धारण गरिएकाे छैनः विभाग


काठमाडौं – औषधि व्यवस्था विभागले हाल कुनैपनि औषधिको मूल्य निर्धारण नगरिएको जनाएको छ । केही सञ्चार माध्यममा औषधि व्यवस्था विभागले कानुनभन्दा बाहिर गएर औषधिको मूल्य बढाएको भन्दै भ्रमपूर्ण समाचार आएकाले भ्रममा नपर्न आग्रह गरेको हो ।

विभागले सूचना जारी गर्दै सरकारले कुनै पनि औषधिको मूल्य नबढाएको जानकारी दिएको छ । औषधि ऐन, २०३५ को दफा २६ मा विभागले आवश्यक देखेमा नेपाल सरकारको स्वीकृति लिई औषधिको मूल्य निर्धारण गर्न सक्ने व्यवस्था छ ।

हालसम्म विभिन्न ९६ प्रकारका औषधिहरूको मितिमा ०७२–०४–१८ मा नेपाल राजपत्रमा प्रकाशित गरेर मूल्य निर्धारण गरेपनि हालचाल भने कुनै औषधिहरूको मूल्य निर्धारण नगरिएको व्यवस्था विभागका बरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारले मूल्य निर्धारण गरेका बाहेक अन्य औषधिहरूको मूल्य स्वयं उत्पादक कम्पनीले नै निर्धारण गरी औषधि बजारीकरण भई आएकोमा सोलाई नियन्त्रण गर्ने र औषधि मूल्यलाई पारदर्शी बनाउन विभागले अनुगमन गर्ने बताइएको छ ।

औषधिहरूको सिफारिस तथा प्रमाणपत्रहरूको नवीकरण गर्दा अधिकतम खुद्रा मूल्य वृद्धि भएको अवस्थामा साबिकको अधिकतम खुद्रा मूल्यमा १० प्रतिशतभन्दा बढी नबढ्ने गरी नियन्त्रण गर्ने प्रक्रिया अवलम्बन गरिएको छ ।

कुनै पनि औषधि मूल्य सम्बन्धित देशको सन्दर्भ मूल्यभन्दा अधिकतम खुद्रा मूल्य कायम गर्ने अनुमति नदिएको औषधि व्यवस्था विभागले जनाएको छ ।

प्रतिक्रिया