प्रचण्डले ओलीलाई ‘हिन्दू अतिवादी’को संज्ञा दिनुको कारण


काठमाडौं– हालै एउटा कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘हिन्दू अतिवादी’को संज्ञा दिएका थिए।

प्रमुख शत्रुका रुपमा उभिएका यी दुई नेताबीच भनाभन र आरोप प्रत्यारोपको शिलशीला प्रतिनिधि सभा विघटनका ५ पुसका घटनादेखि भइ नै रहेका छन्। एकले अर्काको साख गिराउनका लागि हदैसम्मका शक्तिका प्रयोग पनि गरिए।

तर प्रचण्डले हालै मात्र ओलीलाई किन हिन्दू अतिवादी भनेका हुन्?

ओलीले राम नेपालमै जन्मेको र अयोध्या नै प्रचण्डको निर्वाचन क्षेत्रमा रहेको भनी मन्दीर नै बनाउने घोषणा गरेका थिए। प्रधानमन्त्री रहँदा उनले बालुवाटारबाट नै रामको यात्रा गराई प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ मा पर्ने अयोध्यापुरीमा मन्दीर स्थापना गरिदिए।

धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षताको वकालत गरेका प्रचण्डका लागि यो पाच्य भएन। न उनी खुलेर हिन्दूत्वको विरोध गर्न सक्छन् न त निर्वाचन क्षेत्रमा स्थापना भएको मन्दीरका विषयमा नै केही उल्लेख गर्न सक्छन्। बरु, उनले साख जोगाउनका लागि तत्कालिन समयमा भनेका थिए,‘मेरै क्षेत्रमा रामको जन्म भए त राम्रो तर त्यो तथ्यले पुष्टि हुनुपर्छ।’

प्रतिनिधि सभा विघटनको निर्णय गरेपछि ओली प्रधानमन्त्रीत्व कालमा नै पशुपति मन्दिर पुगेका थिए। त्यसबेलै भएको कतिपय सभामा प्रचण्डलगायतले ओलीको उक्त कार्यको आलोचना गरेका थिए।

प्रचण्डले माओवादीको स्थापना र त्यसको शक्ति धार्मिक एजेन्डा बनाएका थिए। धर्म निरपेक्षताको एजेन्डालाई उनले संविधानमा पनि उल्लेख गराउन भ्याए तर बहुमत हिन्दू धर्म मान्ने जनता रहेका कारण उक्त विषयको गाम्भिर्यतामा मौन पनि बस्ने गरेका थिए।

ओलीले धार्मिक विषयलाई राजनीतिक एजेन्डा बनाई अगाडि बढेपछि प्रचण्ड त्यसको प्रतिवादमा उत्रिँदा ओलीलाई हिन्दू अतिवादीका रुपमा चित्रण गर्न पुगेका हुन्।

‘हिन्दू राज्यको माग अहिले सडकमा घनिभूत रुपमा उठिरहेको छ। एउटा पंक्ति ओलीप्रति झुकाव बढाउन सक्ने भएकाले प्रचण्ड त्यसप्रति आक्रोशित छन्। उनी विपरित पंक्तिलाई माओवादीतिर झुकाव राख्ने बनाउनका लागि हिन्दू अतिवादीको विषय अगाडि ल्याएका हुन्’, जानकारहरू भन्छन्,‘यो विषय चुनावका बेला पनि राजनीतिक रुपमा पेचिलो बन्न सक्छ।’

कतिपयले भने राजनीतिक विवादलाई धार्मिक रङ दिनू उचित नहुने ठान्छन्। प्रचण्डको उक्त भनाईप्रति असहमति राख्ने र त्यसको प्रतिवाद गर्ने सर्वसाधारणले निक्कै रोषपूर्ण प्रतिक्रिया पनि दिइरहेका छन्।

उनको उक्त भनाईसहितको समाचार र भिडिओहरूमा सर्वसाधारणले निक्कै तल्ला तहसम्मका गालीगलौज गरेका छन् भने कतिपयले क्रिश्चियनको एजेन्डामा हिँडेको भनी आक्रोश पोखेका छन्।

प्रतिक्रिया