

विशेष अदालतबाट शर्मासँग ५० लाख धरौटी माग (आदेशसहित)

काठमाडौं – आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतले ५० लाख धरौटी मागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि भ्रष्टाचार मुद्दा चलाएको थियो ।
सोमबार शर्मा विशेष अदालतमा हाजिर हुन पुगेका थिए । सोमबार शर्माको बयानपछि न्यायधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलाशले शर्मालाई ५० लाख धरौटी माग्ने आदेश गरेको हो ।
कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
शर्मासहितका पदाधिकारीले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानी नोक्सानी पुर्याई बदनियतपूर्ण काम गरेको स(प्रमाण पुष्टि भएको अख्तियारको दावी छ ।
करदाताहरूको विभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियतपूर्वक एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बक्यौता कर छुट दिएको पुष्टि भएको अख्तियारको भनाइ छ ।

