गुल्मीमा पहिरोले घर पुर्दा एकैघरका तीन दिदीबहिनीको मृत्यु


गुल्मी – गुल्मीको रेसुंगामा पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोले रेसुंगा नगरपालिका वडा नं. ८ स्थित खानीगाउँ बस्ने एकैघरका ३ दिदीबहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियार रहेका छन् । माथिबाट आएको पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीन बहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

पहिरोमा पुरिएका एकैघरका तीन दिदिबहिनीको शब बिहान निकालिएको प्रहरीले जनाएको छ । उनीहरुको शव अहिले सदरमुकामस्थित जिल्ला अस्पतालमा लगिएको छ । सोही घरमा सुतेका एक महिला र बालिका भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया