‘प्रजा’को बेन्चमा पूर्वयुवराज्ञी हिमानीः हिसाब र विज्ञान औधि कठिन!
काठमाडौं– राजपरिवार र त्यसबखतमा प्रजा कहाँ एकै बेन्चमा बस्थे र? यो सोच्न पनि कठिन विषय हुने थियो। तर, पूर्वराजपरिवारले सामाजिक सेवासँगै प्रजासँगको निकटतालाई साँघुरो बनाउन थालेका छन्।
यसैको एक उदाहरण हुन्– पूर्वयुवराज्ञी हिमानी शाह। हिमानी ट्रष्टमार्फत सामाजिक सेवामा सक्रिय रहेकी उनी सोमबार दिउँसो जनकपुरमा झुल्किएकी थिइन्। उनी रामजानकी मन्दिरमा पूजा गरी बालिका मात्र अध्ययन गर्ने एक विद्यालयको कक्षा कोठामा समय बिताउन पुगिन्।
उनी कन्या माध्यमिक विद्यालयमा पुगेकी थिइन्।
हिमानी ट्रष्टका अन्य सदस्यसँग पुगेर तीन विद्यार्थीसँग एउटै बेन्चमा बसेकी हिमानीले सोधिन्,‘कुन विषय सजिलो लाग्छ?’ उनीहरू मध्य एक जनाले भनिन्,‘हिसाब र विज्ञान। तर गाह्रो पनि हुन्छ।’
सुस्तरी हिमानीले प्रतिक्रिया दिइन्,‘हिसाब र विज्ञान त मलाई पनि औधि कठिन लाग्छ।’
उक्त विद्यालयका कतिपय बालिकालाई उनले शिक्षण सामग्री सहयोग समेत गरेकी छन्।