विद्यालय सञ्चालनको तरखरमा स्थानीय तह


महेन्द्रनगरकञ्चनपुरको महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीले दुई दिनअघि अभिभावक भेला डाक्यो । गत चैत महिनायता बन्द रहेका विद्यालय सञ्चालनमा ल्याउन स्थानीय तहले अभिभावकको राय सङ्कलन गर्न भनेबमोजिम ग्लोबलले आयोजना गरेको भेलामा अभिभावकका मिश्रित सुझाव आए ।

यहाँको भीमदत्त नगरपालिकाले विद्यालय सञ्चालनका निजी तथा सामुदायिक विद्यालयलाई आग्रह गरेपछि विद्यालय सञ्चालक र व्यवस्थापन समिति अभिभावकको राय लिन व्यस्त छन् । भेलामा अधिकांश अभिभावकले विद्यालयमा बालबालिकाको भौतिक दूरी कायम, स्वास्थ्य सर्तकतालगायतका मापदण्ड अपनाएर दिनमा दुई पालोमा सञ्चालन गर्न राय दिएपछि नगरपालिकालाई निर्णयसहितको पत्र पठाएको ग्लोबल एकेडेमीका प्रिन्सिपल सुरेन्द्र ओझाले बताए ।

अभिभावक भेलाको निर्णय, आवश्यक व्यवस्थापन र शिक्षकलगायतका सबै व्यवस्थापनसहितको निर्णय कपी हामीले नगरपालिकामा पठाएका छौँ, प्रिन्सिपल ओझाले भने, ‘नगरपालिकाले केही दिनभित्र विद्यालय सञ्चालनका लागि पत्राचार गर्ने भनेको छ । उनले विद्यालयमा भौतिक दूरी, मास्क, स्यानिटाइजरलगायतका व्यवस्थापन गरेर मात्रै अध्यापन गराउने बताए । बिहान १० देखि दिउँसो १ बजेसम्म पहिलो र १ देखि ४ बजेसम्म दोस्रो सिफ्टमा कक्षा सञ्चालन गर्नेछौँ, उनले भने, ‘यसरी गर्दा दुई सिफ्टमा २०० विद्यार्थी स्कूलमा आएर अध्ययन गर्नेछन् ।

उनले लकडाउनअघि विद्यालयमा ४०० विद्यार्थी रहेको बताए । लकडाउन अवधिमा अनलाइन कक्षा सञ्चालन गरिए पनि सानो कक्षामा त्यति प्रभावकारी हुनसकेन, ओझाले भने, ‘कोरोनाले अन्य क्षेत्रजस्तै शिक्षा क्षेत्र पनि नराम्ररी प्रभावित बन्न पुग्यो ।

त्यसैगरी भीमदत्त१३ बडैपुरमा रहेको बालविद्या निकेतनले सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर सञ्चालन गरिरहेको छ । हामीकहाँ अहिले २५ प्रतिशत मात्रै विद्यार्थी अध्ययनरत छन्, बालविद्या निकेतनका प्रिन्सिपल कृष्ण साउदले भने, ‘हामीले अभिभावकको भेलाबाट सहमति लिएर स्वास्थ्य मापदण्ड पूरा गरेर कक्षा सञ्चालन गरेका हौँ । उनले सामाजिक दूरी कायम र नियमित विद्यार्थीको तापक्रममापन, मास्क अनिवार्य र दैनिक विद्यालयमा साबुन पानीले हात धुने व्यवस्थासमेत मिलाइएको जानकारी दिए ।

शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले विद्यालय सञ्चालन कार्य ढाँचा, २०७७ अनुसार पालिकाबाट स्वीकृति लिएर विद्यालय सञ्चालन गर्न सकिने शिक्षा मन्त्रालयबाट निर्देशिका जारी भएको बताए ।

निर्देशिकामा विभिन्न सातवटा विकल्प छन्, सुवेदीले भने, ‘त्यसमा उपयुक्त विकल्प छानेर सञ्चालन गर्नुपरे सम्बन्धित पालिकामा स्वीकृति लिनुपर्ने भनिएको छ । उनले आइतबार जिल्ला विपद् व्यवस्थापन समितिले पनि विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ अनुसार पालिकाको सहमति लिई उपयुक्त विकल्पमा कक्षा सञ्चालन गर्न सक्ने निर्णय गरेको बताए ।

कञ्चनपुरमा पछिल्लो केही समययता विद्यालय सञ्चालनमा आउने क्रम जारी रहेको सुवेदीले जानकारी दिए । यहाँ २४९ निजी  र २६१ सामुदायिक विद्यालय छन् । कञ्चनपुरको वेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले पालिकाभित्र विद्यालय सञ्चालनको तयारी भइरहेको जानकारी दिए ।

उनले आजदेखि कक्षा ९ देखि १२ सम्म र मङ्सिर २१ गतेदेखि सबै विद्यालय सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए । आजसम्म विद्यालयलाई कुन विधि र विकल्पबाट सञ्चालनमा ल्याउने भनेर अभिभावक भेला, जनप्रतिनिधि र सङ्घसंस्थाको रायसहित निर्णय लिएर आउन भनेका छौँ, चन्दले भने । वेदकोट नगरपालिकाले विद्यालयमा स्यानिटाइजर र स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने चन्दको भनाइ छ ।

(रासस)

प्रतिक्रिया