संसद् अवरोध हटाउन सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै, को-को छन् आमन्त्रित ?
काठमाडौं – संघीय संसद् पटक पटक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वन गरेका छन् । एमालेले बारम्बार प्रतिनिधिसभा अवरोध जारी राखेपछि सहमति जुटाउनका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
सापकोटाले आज (सोमबार) दिउँसो साँढे २ बजे संघीय संसद् भवन नयाँबानेश्वरको लोत्से हलमा दलका संसदीय दलका नेताहरुसँग छलफल गर्न लागेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
छलफलमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ ।
सर्वदलीय छलफल संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्त्वपूर्ण समसामयिक विषयमा केन्द्रित रहने न्यौपानेले बताए ।