खुलामञ्चमा एमसीसी खारेजीको लागि शक्ति प्रदर्शन गर्दै विप्लव नेतृत्वको नेकपा


File Photo

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहायता परियोजना मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध भोलि २८ भदौमा काठमाडौँको खुल्लामञ्चमा बृहत जनसभा गर्दैछ।

एमसीसीविरुद्ध विरोध प्रदर्शनसहित हुने बृहत जनसभालाई पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने बताइएको छ। खुल्लामञ्चमा हुने जनसभाको सम्पूर्ण तयारी पूरा भइसकेको नेकपाका केन्द्रीय सदस्य माइला लामाले जानकारी दिए।

भोलि बिहान ११ बजेदेखि काठमाडौँको त्रिपुरेश्वर, बबरमहल र लैनचौरबाट र्यालीहरु सुरु हुने, मूल जुलुस सुन्धाराबाट निस्किने उक्त ठाउँबाट महासचिव विप्लव जोडिने र जुलुस खुल्ला मञ्चमा प्रवेश गरी १२ बजेदेखि जनसभा सुरु हुने आयोजकले जनाएको छ।

यो कुनै पार्टी विशेषको कार्यक्रम मात्र नभएर एमसीसीको विरुद्धमा लाग्ने सबै देशभक्त, राष्ट्रप्रेमि र राष्ट्रिय स्वाधिनताको पक्षमा लाग्ने स्वाभिमानी नेपाली नागरिकहरुको कार्यक्रम भएकाले सम्पूर्ण देशभक्ति शक्तिहरु र नागरिकहरुलाई उपस्थित हुन नेकपाले अपिल समेत गरेको छ।

नेकपाले लामो समयदेखि एमसीसी खारेजीका लागि, राष्ट्रिय मुक्तिका लागि र देश र जनताको स्वाधिनताका लागि सङ्घर्ष गर्दै र जनचेतना जगाउँदै आएको छ।

देशमा यतिबेला सत्ता र सरकारमा रहेका नेताहरु एमसीसी पास गराउनुपर्ने भन्दै आइरहेका छन् भने केही नेताहरु यसको विरुद्धमा लागेका छन्।

एमसीसीविरुद्धको बृहत जनसभामा २० हजारभन्दा बढीको उपस्थिति हुने अपेक्षा छ।

प्रतिक्रिया