कांग्रेस संस्थापक सुवर्ण शमशेरका कान्छा छोरा रुक्मशमशेर राणाको निधन


काठमाडौं — नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेर राणाको कान्छा छोरा एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव रुक्मशमशेर राणाको निधन भएको छ ।

राणाको गए राति निधन भएको उनको पारिवारिक श्रोतले पुष्टि गरेको छ । लामो समयदेखि राणाको स्वास्थ्यमा समस्या देखिएको थियो ।

राणा अन्तिम समयसम्म नेपाली कांग्रेसकै नजिक रहे । उनी कांग्रेस नेतृत्वको सरकारको पालामा भारतका लागि नेपाली राजदुतसम्म भएका थिए ।

घरेलु खेलकुदको सर्वोच्च निकाय राखेपको दुई पटक नेतृत्व गरेका राणा नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्ष रहेका थिए । उनी एनओसीको वर्तमान मानार्थ अध्यक्ष थिए ।

राणा पहिलो पटक २०५० सालदेखि २०५१ सालसम्म र दोस्रो पटक २०५४ सालदेखि २०५५ सालसम्म राखेपको सदस्य सचिव बनेका थिए ।
राजनीतिक पृष्ठभुमीका राणाले जिवनको अधिकांश समय खेलकुदमै बिताए ।

नेपाल ओलम्पिक कमिटीमा एक मुख्य पात्र राणा पनि थिए । तर पछिल्लो समय ओलम्पिक अभियानलाई विवाद रहित बनाउने भन्दै उनले नेपाल ओलम्पिक कमिटीलाई एक बनाउन सहयोगी भुमिका खेलेका थिए ।

राणालाई सम्मान स्वरुप एनओसीले आफ्नो मानार्थ अध्यक्ष समेत बनाएको थियो ।

राणाले अलिख नेपाल फुटबल संघ (एन्फा)को कार्यवहाक अध्यक्षको रुपमा समेत नेतृत्व गरे । उनले विभिन्न संघमा नेतृत्वदायी भुमिकामा रहेर काम गरेका थिए ।

राणा पछिल्लो समय मिर्गौला, सुगर र प्रेसर लगायतका रोगबाट प्रताडित थिए ।

उनको आजै (शनिबार) पशुपती आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

 

प्रतिक्रिया